शनिबार, वैशाख ८, २०८१
02:16 | ०७:०१

थकित पृथिवी: नवीन चेतनाले उद्वोधित आत्माभिव्यन्जना

रक्ष राई अक्टोबर १३, २०२०

बिजय हितानको कथा संग्रह ‘थकित पृथिवी’ बि.सं. २०७० मा प्रकाशित भएको हो । वहुप्रतिभाशाली बिजय हितान यसपटक कथा संग्रह लिएर नेपाली साहित्य जगतमा एक सशक्त कथाकारका रुपमा आएका छन् । विशेषगरि लाहुरे तथा डायस्पोरिक सर्जकहरु मध्येका उनी अग्रणी स्रष्टा हुन् । लाहुरे तथा बेलायती डायस्पोरिक सिर्जन समाजमा कथाकारको अभावको खडेरी परिरहेको अवस्थामा बिजयको आगमनलाई सबैले स्वागत गर्नु पर्दछ ।

बिजय वहुप्रतिभाले सुसम्पन्न व्यक्तित्व हुन् । उनी एक सेवानिवृत भूतपूर्व गोर्खा सैनिक मात्रै नभएर बेलायतमा स्थापना भएका थुप्रै साहित्यिक तथा सामाजिक संघसंगठनसंग आवद्ध रहेर क्रियाशील उच्च शिक्षा प्राप्त शिक्षित, सभ्य र बौद्विक व्यक्ति हुन् । उनी पल्टनघरमा शिक्षालाई विशेष महत्व दिएर आफ्नो अध्ययन निरन्तर अगाडि बढाउंदै ओपन युनिभर्सिटी अफ हंगकंगबाट बीएसी र युनिभर्सिटी अफ ग्रीनवीचबाट एमएसीको उच्च शिक्षा प्राप्त गरि सर्वथा पहिला वातावरण तथा पर्यावरण बिज्ञ हुन् । उनी आफ्नो शैक्षिक योग्यतानुसारको एन्भायरोमेन्ट एजेन्सीमा जागिर खांदै साहित्य सिर्जनामा पनि सक्रिय छन् ।

नेपाली काब्यसाहित्यमा कथा लेखनको इतिहास त्यति लामो छैन् । बि.सं. १९९१ सालमा प्रकाशित गुरुप्रसाद मैनालीको ‘नासो’ कथा संग्रहबाट नेपाली कथाले सामाजिक रुप ग्रहणगरी नेपाली कथा परम्पराले प्रवेश पाएको हो । त्यसपछिका अग्रपंक्तिका कथाकारहरुमा भवानी भिक्षु, भिमनिधि तिवारी, पोषण पाण्डे, विश्वेश्वरप्रसाद कोइराला, तारिणी प्रसाद कोइराला, ह्दयचन्द्रसिंह प्रधान, पारिजात, परशु प्रधान, नारायण ढकाल, महेशविक्रम शाह र रोशन थापा ‘निरब’ सम्म आइपुग्दा नेपाली आधुनिक कथाले लगभग ८८ वर्षको यात्रा तय गरेको छ ।

आज नेपाली आधुनिक कथाले उत्तरआधुनिक रुप लिंदै गर्दा बेलायती डायस्पोराबाट जया राई, लारा राई र बिजय हितानका कथाहरु पारिजातले भने झैं अकथा भएर आइरहेका छन् । यी तीनै कथाकारहरुका कथालाई कुनै नयां पद दिनपर्ने आवश्यकता परयो भने यी कथा हुन् वा यी कथा होइनन् ? का बीचमा रहने अर्थलाई खोज्न सक्नु पर्दछ । काब्यसाहित्य सिर्जना र चिन्तन परम्परा जडवादी छैन् । यो समय सापेक्षित परिवर्तनशीलता र अनिश्चितता यसको प्रगतिशिल र उत्तरआधुनिक चरित्र हो । नेपाली कथा सिर्जना र चिन्तन परम्परा गुरुप्रसाद मैनालीबाट यहांसम्म आइपुग्दा आधुनिक कथाको रुप अर्कै भैसकेको छ र त्यो उत्तरआधुनिक प्रकृतिको हुने क्रममा छ । काब्यसाहित्यका नयांनयां विचार, चिन्तन र बादहरुका प्रयोगहरु सर्वप्रथम कवितामा हुने गर्दछ । त्यसपछि नेपाली आधुनिक कथा विधाले पनि त्यो प्रयोगधर्मिताको गुण राख्दछ ।

बेलायती डायस्पोराबाट आइरहेका कथाहरुका गुण, चरित्र, स्वभाव र स्वरूप त्यसको प्रत्यायी बनेका छन् । जया राई, लारा र बिजय हितानका आत्मपरक शैलीमा अभिब्यन्जित कथाहरु, आत्मवृतान्त, दैनिकी, संस्मरण, अतीत स्मृति, डायरी स्मरण, अतीत मोह जस्ता काव्यका सम्पूर्ण विधाका तत्वगुण युक्त शक्ति वा भाव र भावनाको पोषक तत्वले परिपोषित छन् ।

यति भनिसकेपछि बिजय हितानको कथाभित्र संक्षेपमा प्रवेश गर्न चाहन्छु । बिजयका ‘थकित पृथिवी’ कथा सङ्ग्रह १२ वटा मध्यम लघुआकारका कथाहरुको संकलित संग्रह हो । यी कथाहरु विषयगत एवं संरचनागत पक्षले नवीन त छ नै, साथमा डायास्पोरिक चेतनाको उद्बोधन यसको अक्षय शक्ति हो ।

डायास्पोरिक समाजलाई हामीले काब्यसाहित्य सृजनाको कुमारी भूमि मानेका हौं जो साहित्यलाई आधुनिक सोच र चिन्तनबाट जोतखन नगरिएको अवस्थामा छ । नयां समय चेतनाले उद्वोधित भएर नै नेपाली काब्य चिन्तन परम्पराको जगतमा आगमित नवचेतनाग्रहले आफ्नो सुत्र वाक्यमा जगतमा चेतना मात्रै नवीन छ भनेको हो । चेतना प्रकृतिप्रद तत्व अथवा इश्वरीय अनुकम्पाद्वारा प्राप्त बुद्धि तत्व र आत्मा तत्वको अनन्तताभित्र अवस्थित अवोध, अगम्य, अज्ञेय र अविच्छिन्न, लौकिक तथा अलौकिक आदि आन्तरिक शक्ति हो, तापनि यो समय, परिस्थिति र वातावरण (वस्तु) को प्रभावद्वारा जागृत हुने गर्दछ ।

बिजयका कथाहरु समय चेतनाका उद्वोधन हुन् । यी कथाहरु विचारको विशिष्टता भाव, सौन्दर्य र कलात्मक उच्चताले विशिष्ट बन्न बांकी नै रहेको अवस्थामा अथवा भर्खर सालनाल सहित जन्मिएको बच्चा झैं लागे पनि ति नयां समय चेतनाले आएका हुन् । जसरी भर्खरै सालनालसहित जन्मिएको बच्चा आमाको गर्भभित्रैबाट नयां समयको उर्जाशक्तिले परिपोषण प्राप्त भएर नयां योग पर्खिएर जन्मेको हुन्छ ।

ओलम्पिक ज्योति र सपनाहरुः
यो संग्रहको पहिलो कथा हो । एक खेलकुद प्रेमीको खेलकुदप्रतिको प्रेम, श्रद्धा र सम्मान भावको कथा हो । खेलकुद राष्ट्रको गौरवको विषय हो र यसले विश्व सामु राष्ट्रको गरिमालाई उचाईंमा लगेर प्रतिष्ठित तुल्याउंछ र गौरव बढाउछं भन्ने सत्य सन्देश सहित नेपाली मानसलाई खेलकुदको औचित्यमाथि प्रकाश पार्दै नेपाल राज्यको खेलकुद प्रति बेवास्तापूर्ण दृष्टिलाई परिवर्तन गर्न कथाको ध्येय बनेर आएको छ ।

कथाकार स्वयम् पनि मार्शल आर्टका उत्कृष्ट खेलाडी र प्रशिक्षक पनि भएकाले उक्त कथाका पात्रको अन्तरह्दयभित्र खेलकुदप्रतिको मोहसंगसंगै नेपाललाई त्यो गौरवशाली राष्ट्रको रुपमा हेर्न पाउने स्वयम् कथाकारको सपना कथाको कथ्य र विषयका अन्तरवस्तुभित्र आवद्ध भएर आएको प्रतीत हुन्छ । किनभने काव्यका विषय अथवा घट्ना वा पात्रको चरित्र समाज वा जीवनको अनुकृत विषय हुन्, तापनि कथ्यका प्रसंगमा आन्तरिक तत्वका रुपमा अन्तर्निहित भएर आउने भाषा (आत्माको वचन ) विचार, ध्येय, अनुभव, अनुभूति, भाव, भावना र समवेदनामा हुने निजत्वका कारणले त्यो सृजना हुन्छ, नत्र काब्य सृजना नभएर विषय र बस्तुहरुको संकलन मात्रै हुने थियो । यो कथा थुप्रै प्रसङ्गहरुको योगले निर्मित मध्यम लघु आकारको कथा हो र यो मेरो जानकारी अनुसार पहिलो नेपाली खेलकुद कथा पनि हो ।

संघाई स्ट्रिटका दुई आंखाः
यो विशुद्ध डायास्पोरिक चेतनाले उद्वोधित कथा हो । यसले आफ्नो कथ्य भूमि बेलायत र हंगकंगलाई बनाएको छ । बेलायतको आवासीय भिसा प्राप्त बेलायती नेपाली पुरुष पात्र र हंगकंगको आइडिवालासंग नक्कली बिबाह गरेर आएकी हंगकंगेली नारी पात्र दुवै कथाका यान्त्रिक पात्र हुन् । ती दुवै यान्त्रिक पात्रको संगमस्थल यान्त्रिक सहर हंगकंग बनाइएको छ । यी दुवै ह्दय भावना विहिन यान्त्रिक पात्र यौन तृप्तिका निम्ति दौहिक प्रेम गर्दछन् र त्यसको कुनै बहानामा तृप्ति पश्चात यन्त्र झैं विच्छेद हुन्छन् यी दुवै यान्त्रिक पात्रहरुको अचानक नाटकीय सम्बन्ध र तत्काल विच्छेदलाई कथाकारले नाटकीय ढंगबाट सफल प्रस्तुत गरेका छन् । कथामा प्रत्याभूत हुने फरक भौगोलिकता, फरक जीवन शैली, स्वतन्त्र जीवन र यौन स्वच्छन्दता कथाका विशेषता हुन् ।

सपनाकी राजकुमारी केटः
यो प्रयोगवादी कथा हो । प्रमुख पात्रको स्वप्न शयरलाई कथ्य माध्यम बनाएर अथवा स्वैर कल्पनाको प्रयोगले अवास्तविक वा अकाल्पनिक विषय वस्तुलाई वास्तविकताको प्रत्याभूत हुनेगरी कथालाई कथ्नु हो । सृजनामा यस कथ्य विधि वा नयां जुक्तिलाई नवचेतानाग्रहको सिद्धान्तले प्रतीयमान प्रत्यायीकरण भनेको छ । यसको अर्थ असत्य, अवास्तविक, अकाल्पनिक, अतिकाल्पनिक, अपत्यार, अस्वभाविक, अचम्म, अदभूत, अजीवनतालाई कथ्यको विधि वा नयांनयां जुक्ति र भाषा वा शब्द ब्रहमको शक्ति, विशिष्ट कला र सौन्दर्यको अलौकिक चमत्कारले सत्य झैं प्रतीत हुने गरि पाठक, श्रोता र श्रष्टालाई प्रत्याभूत गराउन सक्नु हुन्छ । यस कथामा नेपाली राजपरिवारका पुत्र युवराज देवेन्द्र वीरविक्रम र बेलायतकी युवराज्ञी केट मिडल्टनबीचको शुभविवाहको असत्य, अवास्तविक, अकाल्पनिक, अतिकाल्पनिक कथालाई सत्य झैं प्रतीत हुनेगरी प्रस्तुत गर्न सफल भएको छ ।

वर्षगांठः
चौथो कथा आत्मपरक शैलीमा बुनिएको एक आदर्श सफल बैबाहिक दाम्पत्य जीवन यात्राको सफल चित्रण हो । कथाको केन्द्रीय भाव एक आदर्श सफल दाम्पत्य जीवन यात्राको उहापोहा र अतीत स्मरणको वर्तमान चित्रण हो । तापनि कथ्य प्रसंगका थुप्रै अन्तर बस्तुहरुको योगले निर्मित छ ।

विछोड अघिको रातः
यो आमलाहुरे लाहुरेनी र तिनका परिवारजनका साझा अनुभव र अनुभूतिको कथा हो । लाहुरे पात्र सामान्य तीन वर्षपछि छुट्टीमा घर आउंछ र बिहे गर्दछ । यो लाहुरेको एक संस्कृति नै बनेको छ । कतिपय जातीय समाजमा त लाहुरे पल्टनमा हुंदै बुहारी भित्रयाएर घरको मुलखांबोसंग बिहे गराइन्छ । छ महिने छुट्टीमा बिहे गरेर भर्खर प्रेम बस्न लागेकी प्रेयसी र लामो समय पश्चात आमासंग भएको भेटलाई एकै निमेषमा बिताएर बिछोडिनु परेको पीडाले विक्षिप्त मनस्थिति र दुःखको चुडान्त क्षणको मार्मिक बयान बिछोड अघिको रात हो ।

गौरीको मलामीः
आमनेपाली जनमानस वा सामान्य पाठकका निम्ति अनौठो र अपत्यारिलो लाग्ने यो पर्यावरण कथा हो । कथाका विक्रम पात्र बेलायत निवासी नेपाली हुन् । जो एक पर्यावरण बिज्ञ र त्यही क्षेत्रमा कार्यरत व्यक्ति ऊ चोरी शिकारीका कारण लोपोन्मुख अवस्थामा रहेको टाटे बाघ संरक्षणमा लागेको छ । ऊ नेपालको चितवन राष्ट्रिय निकुञ्जमा संरक्षित गौरी नामको टाटेबाघको पालन पोषणका निम्ति प्रत्येक महिना १० पाउण्ड अनुदान दिने गर्दछ । विगत केही समय अघि आफ्ना पिताको देहान्तमा मृत्यु संस्कार गर्न नेपाल नजाने र त्यसका लागि लाग्ने आर्थिक खर्च टाटे बाघ संरक्षण कोषलाई अनुदान सहयोग दिने विक्रम पात्र आहाराको खोजी क्रममा गाउंलेहरुद्वारा मारिएकी गौरीको मलामीमा नेपाल जान्छ । कथाको केन्द्रीय विषय गौरीको मलामी जानु हो । तापनि कथाको कथ्य बेलायत देखि नेपालसम्मको यात्रा वर्णनले बुनिएको छ । पर्यावरण चेतनाले उद्वोधित यसको संरक्षणको सन्देश मुलक सम्भवतः पहिलो पर्यावरण कथा हो । कथाकार स्वयं पनि वातावरण एवं पर्यावरण सम्बन्धि बिज्ञ भएका कारणले यस संग्रहमा तीनवटा कथा पर्यावरणीय चेतनाले जागृत छन् ।

वाञ्चाइमा फक्रेको फूलः
हंगकंगको भूमि र त्यहां संगठित र विघटित सामान्य जीवन र जनजीवनका घट्ना र तत् जन्य क्रियाकलाप र पात्रहरुको चरित्रलाई कथाको रुप दिइएको यो दोस्रो डायास्पोरिक चेतनाले युक्त कथा हो । कथा एउटा ब्रिटिस गोर्खा अर्थात् लाहुरेको जीवनमा घटित विदेशी केटीसंगको प्रेम प्रसंगले बनेको छ । जसको जीवन प्रेममा धोकापूर्ण खेलले एक्लिएर बितेको हुन्छ । ‘एकान्तमा शून्यता पाइन्छ’ ‘एकान्तमा जीउन कला चाहिन्छ’… कथाको पहिलो मार्मिक दार्शनिक बाक्यांशले सुरु मै पाठकलाई समात्दछ । कथाभित्र सैन्य जीवन छ, दैनिकी वा दिनचर्या छ, जीवन पद्धति छ । सिपाहीको यौवन र यौन छ र विदेशी प्रेमिका छे । कथाभरि गोर्खा सैन्य जीवन र हंगकंगको परिवेश छाएको छ ।

नयां वर्षले जन्माएको वृक्षः
यो पनि अर्को पर्यावरण कथा हो । नेपालको प्रकृति विनाश र काठमान्डूको बागमती नदीको प्रदुषण रोकथाम वा निवारण कथाको मूल विषय हो । बेलायती नेपाली नागरिक कथाको पात्र नेपालमा बृक्षारोपणको उद्देश्यसहित चेतनामुलक कार्य सम्पन्न गर्न वातावरण संरक्षण मैत्री भ्रमणमा नेपाल जान्छ । प्राकृतिक विनाशले जन्माएको पर्यावरण प्रदुषणमा बृक्षा रोपनको सफलताले ल्याउने स्वास्थ्य वातावरणको सुन्दर भविष्यको एक अतिकाल्पनिक भविष्य कथा हो ।

आमाको मायाः
सेवानिवृत्त गोर्खा सैनिक अर्थात लाहुरेको अवकाशपछिको जीवन वृतान्तको एक झलक, जो आमाको मायासंग जोडिएर आएको छ । यो आत्मपरक शैलीमा व्यन्जित हुन पुगेको एक संस्मरणात्मक दैनिकीको स्वभावले युक्त कथा हो । यसमा कथागत संरचनाको न्यूनता र संस्मरणात्मक स्वभावको आधिक्यता पाइन्छ । कथा आमालाई नेपालबाट बेलायत भ्रमण ल्याएर पुनः नेपाल फर्कंदासम्मका प्रसंगहरुले निर्माण भएको छ ।

आलुको ढिडोः

यो पिता र पुत्रहरुको बीचको समयान्तर अथवा पुस्तान्तरको कथा हो । नेपालको दुर्गम पहाडी गाउंमा जन्मेर कोदो, गहुं र फापरको ढिंडो खाएर हुर्किएका पिता र बेलायतको अत्याधुनिक शहर र घरको भान्छामा आलुको ढिंडोलाई म्यास पोट्याटो भन्दै खाइरहेका पुत्रहरूबीचको समयान्तरको चित्रण हो । अरुलाई चिन्न पहिले आफूलाई चिन्न आवश्यक हुन्छ । अरुकोपनलाई अंगीकार गर्न पहिले आफ्नोपनमा गौरव गर्न जान्नु पर्दछ भन्ने पुत्रहरूप्रतिको पिताको सन्देश र शिक्षाको अभिप्रायले बनेको कथा हो ।

ब्युंझिएर सपनाबाटः
यो तेस्रो पर्यावरण कथा हो । अत्याधुनिक विज्ञान र प्रविधिको चरम विकासले बातावरण र पर्यावरणमा पार्ने प्रदुषण र त्यसको क्षति र दुष्परिणामको चिन्ताले निर्माण भएको कथा हो । यो अतिकाल्पनिक भविष्य दुश्चिन्ताले युक्त कथा हो । यसको नवचेतनाग्रहले भनेको प्रतीयामान प्रत्ययीकरणका लागि स्वप्न शयरको जुक्तिलाई अपनाएको छ । यो अति काल्पनिक कथा नेपालको कालीगण्डकी कोशीको आणविक भट्टीलाई भूकम्पले क्षतिग्रस्त तुल्याएपछि त्यसको चुहावटबाट वायुमण्डलमा पारेको प्रदुषण र त्यसको विकिरणले पारेको प्रभावको रोकथाम र नियन्त्रणका निम्ति बेलायती नेपाली जोन राई नेपाल जान्छ । पात्रको नेपालसम्मको यात्रा विवरणले बनेको कथा ज्यादै रोचक र सन्सनीपूर्ण बनाउन कथाकार सफल छन् ।

प्रश्नभित्रको पर्खालः
सिद्वान्त र जीवनमा हुने विरोधाभासले एउटा विज्ञानको विद्यार्थीको मानसमा पर्न गएको अन्तरद्वन्द्व, अन्योल र निस्सारताको कथा हो । एउटा विज्ञानको विद्यार्थी विज्ञानको सुत्र घोक्दछ, सिद्धान्त रट्छ र शिक्षाको भारीले लादिन्छ, तर सिद्धान्त र जीवनमा तादाम्यता मिलेन भने जीवन धागो चुडिएको चंगाजस्तो बेपत्ता हुन्छ भन्ने अभिप्रायले बनेको कथामा एउटा व्यक्तिको व्यक्तिगत लगानीले तयार पारिएको शिक्षित र सक्षम युवा शक्तिलाई देश विकासमा उपयोग गर्न नसक्नु जस्ता राज्यको अल्छीपनप्रतिको दरिलो कटाक्षले बनेको अन्तिम कथा हो ।

अन्त्यमा, विजय हितानका सम्पूर्ण कथाका पक्षलाई पर्गेल्न नयां चिन्तन र दृष्टान्तको आवश्यकता पर्दछ । यो छोटो समिक्षात्मक टिप्पणी डाक्टरले रोगीको रोग निदान गर्नु पूर्व रोगको पहिचान गर्न ब्लडप्रेसर जांच गरे जस्तो अथवा धामीले बिरामीको दोख पत्ता लगाउन नाडी छामे जस्तो मात्रै हो । काब्यसाहित्यका विद्वान विदुषी एवं समालोचकले हितानका कथाहरुको साङ्गो पाङ्गो निखार्ने कार्य गर्नेछन् भन्ने मैले अपेक्षा लिएको छु ।

यद्यपि म संक्षेपमा के भन्छु भने बिजय हितानले यस संग्रहमा केही नयां र अनुकरणीय कार्य गरेका छन् । त्यसलाई भोलिका समालोचकहरुले विस्तृतरूपमा चर्चा परिचर्चा र ब्याख्या गर्ने छन् । तथापि नेपाली कथा परम्परामा उनको यस संग्रहमा संग्रहित अधिकांश कथाहरु डायास्पोरिक चेतना र पर्यावरणीय चेतनाका उन्मेषकका रूपमा प्रकाशित छन् ।

नेपाली कथाको जगतमा नयां चेतनाले प्रकाशित छन् । उनका कथाहरु जसले नयां सम्भावनाका बाटाहरु खनेका छन् । यद्यपि सृजनामा कला नै अविनाशी छ र विचारको जड्त्व, रुढत्व र एकत्वले कलालाई नष्ट गरिदिन्छ । प्रायः जडवादी चिन्तन विचारको नश्वरताप्रतिको अधिक मोहले एकोहोरिन्छ्न र ति आफूलाई प्रगतिशील मान्ने भ्रान्तिमा पर्दछन् ।

हितानका कथाहरुले ठूलाठूला प्रगतिशील हुं भन्ने विचारका दिग्दर्शनका भारी पाठकलाई बोकाएका छैनन् । अतिसामान्य विषयमाथि सामान्य जनजीवनको भाषाको माध्यमबाट उनका कथाहरुमा मनको भावहरुको सहज प्रस्फुटन भएका छन् । जसले उनका सृजना बौद्विक विलासिताका लागि नभएर आमजनमानसका लागि भएका छन् । हितानका कथाकारिताको सम्भावना र सुदुर भविष्यप्रति म निश्चिन्त छु ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू