शुक्रबार, वैशाख १४, २०८१
20:27 | ०१:१२

अमेरिकी–बेलायत व्यापार वार्ता सेप्टेम्बर ८ मा पुनः

बहिर्गमन पूर्व अमेरिकासँग व्यापार सम्झौता गर्ने लक्ष्य

रासस/एएफपी सेप्टेम्बर ३, २०२०


लन्डन । अमेरिका–बेलायतबीचको अर्को चरणको व्यापार वार्ता सेप्टेम्बर ८ देखि सुरु हुने बेलायती अधिकारीले बिहीबार बताएका छन् । बेलायतले यो वर्षको अन्त्यसम्ममा ब्रेक्जिटको सङ्क्रमणकालको मिति सकिनुपूर्व अमेरिकासँगको व्यापार सम्झौता सम्पन्न गर्न लागिपरेको छ ।

व्यापार मन्त्री ग्रेग ह्यान्ड्सले भनेका छन्, “दुबै पक्ष अर्को हप्ता वार्ताका लागि भेट हुनेछन् र बेलायतले दुवै मुख्य अमेरिकी राजनीतिक दलका प्रतिनिधिहरुसँग अमेरिकी राष्ट्रपतिको प्राथमिक निर्वाचन हुनु अघि नोभेम्बर पहिले नै सम्झौता गर्न पहल जारी राखेको छ ।”

“म आज घोषणा गर्न सक्छु कि अर्को चरणको वार्ता आगामी मङ्गलबार (सेप्टेम्बर ८) मा सुरु हुनेछ,” ह्यान्ड्सले सांसदहरुद्वारा अन्तर्राष्ट्रिय व्यापार नीतिसम्बन्धी प्रश्नको उत्तर दिँदै भने ।

उनले थपे, “हामीले अमेरिकी राजनीतिक व्यवस्थाका सबै पक्षसँग छलफल गरिसकेका छौँ । हामी यो कुरा सुनिश्चित गर्न चाहन्छौँ कि दुबै मुलुकका सिनेटर, संसद सदस्य र गभर्नरले भविष्यमा बेलायत र अमेरिकाबीच हुने स्वतन्त्र व्यापार सम्झौतामा सम्बन्धित तहबाट पहल गर्नेछन् ।”

बेलायतले इयूबाट आगामी डिसेम्बर ३१ मा हुने बहिर्गमन पूर्व अमेरिकासँग व्यापार सम्झौतगर्ने ठूलो लक्ष्य बनाएको छ । तर, त्योभन्दा पहिले सम्झौता सम्पन्न हुने आशा कम गरिएको छ ।

अमेरिकी संसदले कुनै बृहत् व्यापार सम्झौताको अनुमोदन गर्नु आवश्यक त छ तर शीघ्र सम्झौताको आशा नोभेम्बर ३ मा हुने राष्ट्रपतीय तथा संसदीय निर्वाचनका कारण असम्भव हुने विज्ञहरूले बताएका छन् ।

बेलायतले जुन २०१६ मा ईयूबाट अलग हुने वा नहुने बहसमा जनमत लिनका लागि मतदान गरेको ऐतिहासिक जनमत संग्रहमा पाएको मतादेश अनुसार अन्ततः यस वर्षको जनवरी ३१ मा इयूबाट बहिर्गमन (बे्रक्जिट) गर्ने औपचारिक निर्णय लिएको थियो । यद्यपि यो निर्णय कार्यान्वयनका लागि एक वर्ष सङ्क्रमणकालीन अवधिको घोषणा गरिएको छ ।

बेलायत चालु वर्षको अन्त्यसम्मको सङ्क्रमणकालीन अवधिमा ब्रसेल्ससँगको भविष्यको सम्बन्ध कस्तो रहने भन्ने विषयलाई छलफल गरी एउटा निश्कर्षमा पुग्नुपर्ने भएपनि ब्रसेल्ससँगका वार्ताहरूलाई अपेक्षाकृतरूपमा अघि बढाउन असफल देखिएको छ । यसमा दुबै पक्षका बलिया अडान रहेका छन् । यो वर्ष कोभिड–१९ को महामारीका कारण पनि यो महत्वपूर्ण विषय लामो समय ओझेलमा परेको छ ।

यद्यपि २७–सदस्यीय ईयू समूहले लण्डनलाई व्यापारबारे अन्य मुलुकहरूसँग वार्ता गर्न अनुमति भने दिएको छ । अमेरिकासँगको व्यापार वार्ता अमेरिकी कृषि उत्पादनको निर्यातलगायतका कैयौँ विषयका कारण जटिल बनेको छ ।

व्यापार मन्त्री लिज ट्रसले बिहीबार सांसदहरूसँग भने, ‘अमेरिकी क्लोरीनयुक्त कुखुरा, जुन बेलायतको मापदण्डमा कम गुणस्तरको मानिन्छ, लाई कुनै पनि सम्झौताले लण्डन भित्राउनु राम्रो नहुने बेलायतको बुझाइ छ ।’

यो विषय प्रतिपक्षीका लागि कडा विरोध गर्ने सन्दर्भ बन्ने देखिएको छ भने अमेरिकाले यसलाई पनि सम्झौतामा राख्न इच्छुक छ ।

गत वर्ष दुई देशबीचको द्विपक्षीय व्यापार दुई खर्ब २१ अर्ब अमेरिकी डलर बराबर रहेको थियो । स्वतन्त्र व्यापार सम्झौताले लामो अवधिपछि यसलाई थप १५.३ अर्ब बेलायती पाउण्डस्टर्लिङ पुरयाउन सकिने बेलायत सरकारको अनुमान छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू