शुक्रबार, वैशाख १४, २०८१
02:02 | ०६:४७

मनी ट्रान्सफर व्यवसाय पनि कोभिड १९ को चपेटामा

नेपाली लिङ्क मे ५, २०२०

भण्डारी ब्रदर्शका निर्देशक कमल भण्डारी (बायां) र आइएमइ लन्डनका निर्देशक कमल पौडेल

लन्डन । कोभिड १९ महामारीको चपेटामा बेलायतस्थित मनी ट्रान्सफर व्यवसाय पनि परेको छ ।

मनी ट्रान्सफर व्यवसाय सञ्चालन गरिरहेका नेपाली व्यवसायीले अहिले नेपाल पैसा पठाउने क्रम 
हवात्तै घटेको गुनासो गरेका छन् ।

कोरोना भाइरस संक्रमणसंगै जारी लकडाउनले कतिपय कम्पनी बन्द हुंदा कयौंको जागिर गुमेको अवस्था छ । आम्दानी कम र भविष्यमा के हुने हो भन्ने अन्यौलबीच मानिसहरु केही पैसा वचत गर्न लाग्दा परिवार वा आफन्तजनलाई पैसा पठाउने क्रम घटेको व्यवसायी कमल पौड्याल बताउंछन् ।

आइएमइ लन्डनका निर्देशक पौडेल मनी ट्रान्सफर व्यवसायमा झण्डै दुई दशक यता आवद्ध छन् । अहिले आफ्नो व्यवसायमा कम्तीमा ५० प्रतिशत गिरावट आएको र यो व्यवसाय थालेयताकै सबैभन्दा जटिल अवस्था भएको पौडेलले बताए । उनी तत्काल व्यवसाय सुधार हुने अवस्था पनि देख्दैनन् । कति ग्राहकले ‘रेट’ बढि पाइने लोभमा हुण्डीबाट कारोबार गर्दा थप मार परेको पौडेलको गुनासो छ ।

कोभिड १९ ले अरु व्यवसाय प्रभावित हुंदा त्यसको प्रत्यक्ष मारमा मनी ट्रान्सफर व्यवसाय पनि परेका छन् । बेलायतबाट नेपालमात्र रेमिटेन्स पठाएर चलिरहेका अधिकांश नेपालीको मनी ट्रान्सफर व्यवसाय अहिले असहज परिस्थितिबाट गुज्रिरहेका छन् ।

बेलायतमा मनी ट्रान्सफर व्यवसायमा स्थापित भण्डारी ब्रदर्शले पनि यतिखेर व्यापारमा मन्दी खेपेको छ । अहिलेको विषम परिस्थितिमा घरैबाट काम सुचारु भएपनि पैसा पठाउने ग्राहकको अहिले धेरै कमी भएको अनुभव उक्त कम्पनी सञ्चालकको छ ।

विगतको तुलनामा आधा भन्दा कम कारोवार भइरहेको भण्डारी ब्रदर्शका निर्देशक कमल भण्डारीले जनाए । ‘रेमिटेन्स भनेको कमाइ भएपछि हुने हो । तर, कतिको जागिर गएको र अधिकांशले पछि यहीं चाहिन्छ कि भन्ने सोचेर ‘रिजर्भ फण्ड’ राख्दा व्यवसाय निराशाजनक छ’, भण्डारीले भने, ‘अर्को कारण नेपालमा बैंक र काउन्टरहरु बन्द भएका कारण पठाइएको पैसा लिन पनि कठिन हुने भएर कारोबारमा गिरावट आएको देखिन्छ ।’

भण्डारी ब्रदर्सको यतिखेर २ वटा रेष्टुरेन्ट बन्द छन् भने २ वटा रेष्टुरेन्टमा ‘टेक वे’ सेवा दिइएको छ । लकडाउनका कारण रेष्टुरेन्ट बन्द भएपछि बियर सप्लाइ गर्ने अर्को व्यवसाय पनि ठप्प भएको भण्डारीले बताए । गोल्डेन एभरेष्ट ग्रुपले बेलायतमा बियर उत्पादन तथा आपूर्ति गर्ने गर्छ, जसको अध्यक्ष भण्डारी हुन् । ‘अब केही वर्ष सबै व्यवसाय फस्टाउने सम्भावना न्यून छ’, भण्डारी भन्छन् ।

बेलायतमा बैंकिंग च्यानलमार्फत आधिकारिक रुपमा पैसाको कारोवार गर्ने कम्पनी औंलामा गन्न सकिने व्यवसायी बताउंछन् । धेरै जसो कम्पनी घरैबाट सञ्चालित भएका र उनीहरुले हुण्डी कारोबार गर्दा ‘जेन्यूइन’ कम्पनी थप मारमा परेको बताइन्छ ।

कोभिड १९ का कारण विदेशबाट पठाइने रेमिटेन्सले धानिएको नेपालको अर्थतन्त्र पनि संकटतर्फ उन्मुख हुने निश्चित छ । रेमिटेन्स नेपाली अर्थतन्त्रको प्रमुख आधार भएकाले विदेशबाट जाने विप्रेषण घट्दा यसले अर्थतन्त्रमा असर गर्ने भएको हो ।

राष्ट्र बैंकका कार्यकारी निर्देशक एवं प्रवक्ता गुणाकर भट्टका अनुसार यस वर्ष एक खर्ब रुपैयां हाराहारी रेमिट्यान्स घट्नेछ । गत आर्थिक वर्षमा ८ खर्ब ७९ अर्ब रुपैयां रेमिट्यान्स भित्रिएकामा यस वर्ष ८ खर्ब पनि नकट्ने भट्टको अनुमान छ ।

रेमिटेन्स पठाउने प्रमुख देशमा कतार, साउदी अरब, यूएइ, मलेसिया, अमेरिका, जापान, दक्षिण कोरिया, कुवेत, बहराइन, भारत, बेलायत आदि हुन् । गत वर्ष बेलायतबाट १.१६ मिलियन डलर रेमिटेन्स नेपाल भित्रिएको नेपाल राष्ट्र बैंकको तथ्यांकमा छ ।

राष्ट्र बैंकको एक अनौपचारिक अध्ययन अनुसार नेपालमा औपचारिक माध्यमबाट ७५ प्रतिशत मात्र रेमिटेन्स जाने गरेको छ । २५ प्रतिशत रेमिटेन्स भने हुन्डी लगायत अनौपचारिक माध्यमबाट भित्रिने बताइन्छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू