बेलायतमा कोभिड खोप लिंदा इमिग्रेसन स्टाटस जाँच नहुने, इलिगल इमिग्रेन्टलाई पनि ढुक्क
नेपाली पनि हुनेछन् लाभान्वित



फाइल तस्विर
लन्डन । बेलायतले कोभिड खोप वितरणको अभियानमा गैरकानूनी रुपमा बसेका विदेशीहरुप्रति पनि लचकता अपनाउने भएको छ ।
कोभिड खोप लिन आउने क्रममा कुनै पनि गैरकानूनी विदेशीलाई पक्राउ गरी डिपोर्ट नगरिने सरकारले स्पष्ट पारेको छ । जसका लागि कोभिड खोप लिन आउने क्रममा कसैको पनि इमिग्रेसन स्टाटस जाँच नगरिने भएको छ ।
पक्राउ परी देश निकाला हुने डरले गैरकानूनी इमिग्रेसन स्टाटसमा रहने हजारौं मानिसहरु कोभिड खोप लिन समेत नआउने जोखिम देखिएपछि सरकारले खोप लिन आउंदा ‘डिपोर्टेसन्’ को खतरा नरहने स्पष्ट पारेको हो ।
बेलायत सरकारका मन्त्रीहरुले देशभित्र रहेका सम्पूर्ण मानिसलाई खोप दिलाउने प्रयासमा गैरकानूनी आप्रवासीहरुलाई पनि समेट्न खोजिएको बताएका छन् । उनीहरुलाई आफू नजिकको जीपी सर्जरीमा नाम दर्ता गराउन आव्हान गरिएको छ ।
इमिग्रेसन स्टाटस नहुनेहरु समेतलाई कोभिड खोप निशुल्क बांडिने बेलायत सरकारले घोषणा गरेको छ ।
खोपका बेला अपनाइएको लचकता अन्य अवस्थामा भने लागू नहुने स्पष्ट पारिएको छ । कोभिड खोप लिएकै आधारमा इमिग्रेसन स्टाटस नहुनेहरुलाई सधैंको लागि डिपोर्टेसनबाट छुट मिल्ने छैन् ।
यसअघि कोभिड महामारी शुरु भएपछि बेलायतले कोभिड परीक्षणका क्रममा पनि इमिग्रेसन स्टाटस जाँच नहुने प्रबन्ध गरिसकेको थियो ।
नेपाली पनि हुनेछन् लाभान्वित
कोभिड खोप वितरणका क्रममा इमिग्रेसन स्टाटस जाँच नहुने व्यवस्थाबाट बेलायतस्थित कयौं नेपालीले पनि लाभ लिने भएका छन् ।
यकिन तथ्यांक नभएपनि बेलायतमा गैरकानूनी रुपमा बसिरहेका वा इमिग्रेसन स्टाटससम्बन्धी विभिन्ना समस्या रहेका सयौं नेपाली लाभान्वित हुने आँकलन छ ।
‘गैरकानूनी रुपमा बसिरहेका मात्रै नभइ इमिग्रेसनसम्बन्धी समस्या भएका वा अदालतमा इमिग्रेसन मुद्धा चलिरहेका पनि धेरै नेपाली हुनुहुन्छ । उहाँहरु सबैमा कतै अनावश्यक लफडामा परिन्छ कि भनेर खोप लिन जान हिच्किचाहट देखिन्थ्यो’- बेलायतस्थित इमिग्रेसन एड्भाइजर एवम् भिजा क्वेस्ट यूकेका निर्देशक विष्णु खरेल भन्छन्, ‘इमिग्रेसन स्टाटस नै जाँच नहुने भएपछि इमिग्रेसन समस्या हुनेहरु पनि ढुक्क बनेर खोप लिन जान सक्नेछन् ।’