शुक्रबार, चैत १६, २०८०
22:57 | ०४:४२

होटल खर्च घटाउन शरणार्थीलाई सैन्य अखडामा राख्ने बेलायतको योजना

रासस/सिन्ह्वा मार्च २९, २०२३

तस्बिर एएफपी

लन्डन, १५ चैत–बेलायतले शरणार्थीलाई अस्थायी रूपमा अप्रयुक्त सैन्य अखडामा राख्ने बताएको छ ।

होटलको बिल घटाउनका लागि बेलायतले शरणार्थीलाई अस्थायी रूपमा अप्रयुक्त सैन्य अखडामा राख्ने र भविष्यमा डुङ्गा तथा बार्जको प्रयोग गर्न सक्ने बेलायतका अध्यागमनमन्त्री रोबर्ट जेनरिकले बताएका हुन् ।

उनले दक्षिणपूर्वी र पूर्वी इङ्ल्यान्डका दुई पूर्व ‘रोयल एयर फोर्स’ शिविरमा पुनः स्थापित ब्यारेक भवन र पोर्टेबल भवनहरूमा ‘हजारौं’ शरण चाहनेलाई राख्ने सरकारको योजना रहेको सांसदहरूलाई बताए ।

दक्षिणपूर्वी इङ्ल्यान्डको इष्ट ससेक्समा निजी जग्गामा छुट्टै स्थल पनि प्रयोग गरिने जेनरिकले बताए ।

उनले भने, “सरकारले होटल आवासका लागि वार्षिक २.३ अर्ब पाउन्ड (२.८ अर्ब अमेरिकी डलर) को बिल घटाउने उद्देश्यले ‘आप्रवासीहरूलाई पानीजहाजमा राख्ने सम्भावना’ पनि खोजी गरिरहेको छ ।”

प्रधानमन्त्री ऋषि सुनकले च्यानलको अवैध क्रसिङ रोक्न आफ्नो प्राथमिकतामध्येको एउटा कार्यक्रम बताएका थिए । जेनरिकले खतरनाक यात्रा गर्नेहरूको लागि होटल आवासको सम्भावना एक आकर्षण भएको बताएका थिए ।

“यी होटलहरूले समुदायबाट बहुमूल्य सम्पत्ति लिन्छन् र स्थानीय सार्वजनिक सेवाहरूमा दबाब दिन्छन्,” उनले सांसदहरूसँग भने, “हामीले अवैध आप्रवासीहरूको अधिकार र कल्याणलाई बेलायती जनताभन्दा माथि उठाउनु हुंदैन ।”

“आप्रवासीहरूका लागि आवासले उनीहरूको आवश्यक जीवनको आवश्यकताहरू पूरा गर्नुपर्दछ र अरू केही होइन, किनकि हामी विस्थापित भएका लाखौं मानिसहरूका लागि चुम्बक बन्ने जोखिम लिन सक्दैनौं र राम्रो आर्थिक सम्भावनाको खोजी गरिरहेका छौं,” मन्त्री जेनरिकले भने ।

तर यी योजनाहरूले परोपकारी संस्थाहरूको विरोधको सामना गर्नुपरेको छ, जसले आवासलाई ‘एकदम अपर्याप्त’ भनेका छन्, र लेबर पार्टीको छायागृहमन्त्री यवेट कूपरले प्रस्तावहरूलाई ‘असफलताको स्वीकारोक्ति’ भएको दावी गरेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू