शनिबार, वैशाख १५, २०८१
05:33 | १०:१८

पाकिस्तानीमूलका युसुफ स्कटल्याण्डको फर्स्ट मिनिस्टर निर्वाचित

नेपाली लिङ्क मार्च २७, २०२३

लन्डन। पाकिस्तानी मूलका हम्जा युसुफ स्कटल्याण्डको फर्स्ट मिनिस्टर निर्वाचित भएका छन्।

स्कटिश नेश्नल पार्टी (एसएनपी) को नयाँ नेतामा चयन हुँदै युसुफले अब त्यहाँको फर्स्ट मिनिस्टरको जिम्मेवारी सम्हाल्ने अवसर पाएका हुन् ।  

यसअघिकी फर्स्ट मिनिस्टर निकोला स्टर्जनले राजीनामा गरेपछि उक्त पदमा पुग्न पार्टीका तीन नेताहरुबीच भएको प्रतिस्पर्धामा युसुफ विजेता बने ।

स्कटल्याण्डको फर्स्ट मिनिस्टरमा निर्वाचित युसुफ स्कटिश सरकारको प्रमुख रहनेछन् । स्कटिश सरकारका नीति निर्माण तथा कार्यान्वयन उनको नेतृत्वमा हुनेछ।  

एसएनपीको नेता हुँदै स्कटल्याण्डको फर्स्ट मिनिस्टर बनेका ३७ वर्षीय युसुफले बेलायती राजनीतिमा नयाँ कीर्तिमान बनाएका छन् । बेलायतको कुनै पनि प्रमुख दलको नेतृत्वमा पुग्ने उनी पहिलो मुस्लिम बन्न सफल भएका छन् ।  

भारतीय मूलका ॠषि सुनक बेलायतको पहिलो हिन्दू प्रधानमन्त्री बनेको केही महिना नबित्दै स्कटल्याण्डमा पाकिस्तानी मूलका फर्स्ट मिनिस्टरको संयोग जुरेको हो ।  

निवर्तमान फर्स्ट मिनिस्टर निकोला स्टर्जननिकट ठानिने युसुफले आफूलाई यसअघि निकोलाले लिएकै लाइनमा अघि बढाउने अपेक्षा गरिएको छ । उनीमाथि स्कटल्याण्डलाई बेलायतबाट अलग गर्न पुन: जनमत संग्रहको लागि सफल अगुवाइ गर्नुपर्ने दबाब रहनेछ ।  

स्कटल्याण्डको सत्तारुढ पार्टीको प्रमुख निर्वाचित युसुफ पाकिस्तानी मूलको मुस्लिम परिवारमा स्कटल्याण्डमा जन्मिएका थिए।  उनका पिता सन् १९६० को दशकमा पाकिस्तानबाट स्कटल्याण्ड आएका थिए।

युसुफले सन् २०१२ देखि नै स्कटिश सरकारमा विभिन्न जिम्मेवारी निर्वाह गर्दै आएका थिए।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू