शनिबार, वैशाख १५, २०८१
02:54 | ०७:३९

नेपाल एयरलाइन्सलाई मुनाफामा लाने नवनियुक्त महाप्रवन्धकको दावी

नवनियुक्त महाप्रवन्धक डिमप्रसाद पौडेलद्वारा पदभार ग्रहण

रासस अक्टोबर १२, २०२०

तस्वीर-रोशन सापकोटा/रासस

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का नवनियुक्त महाप्रवन्धक डिम प्रसाद पौडेलले आज आफ्नो पदभार ग्रहण गरेका छन् । मन्त्रिपरिषदको गत बिहीबारको बैठकले पौडेललाई ४ वर्षका लागि महाप्रवन्धक पदमा नियुक्त गरेको थियो । चार्टर्ड एकाउन्टेन्टका साथै व्यवस्थापन विज्ञका रुपमा परिचित उनी यसअघि निगम सञ्चालक समितिको सदस्य थिए ।
नयाँ सडकस्थित निगम मुख्यालयमा आज आयोजित पदभार ग्रहण कार्यक्रममा सञ्चालक समितिका अध्यक्ष सुशील घिमिरेले निगमले व्यवस्थापन विज्ञ र युवा महाप्रवन्धक पाएकोमा खुसी व्यक्त गरे । उनले कोरोना महामारीको अवस्थामा पनि निगमले उल्लेखनीय सेवा प्रदान गर्दै आएकोमा प्रसन्नता व्यक्त गर्दै पारस्परिक सल्लाह र समझदारीको आधारमा नयाँ महाप्रवन्धकको नियुक्ति भएकोले मिलेर काम गर्ने विश्वास दिलाए ।
नवनियुक्त महाप्रवन्धक पौडेलले उड्डयन क्षेत्रमा आफ्नो अनुभव नयाँ भए पनि सरकारले विश्वास गरी नयाँ जिम्मेवारी प्रदान गरेकोमा आभार व्यक्त गरे । उनले निगमलाई गतिशिल बनाउन एक्लो प्रयास पर्याप्त नहुने सन्दर्भमा सबैको सहयोगको अपेक्षा गर्दै निगममा विमान थप गरी सञ्चालन मुनाफाको प्रत्याभूति गर्ने विश्वास व्यक्त गरे ।
नायव महाप्रवन्धक गणेश बहादुर चन्दले निगमबारे पूर्ण जानकारी राख्ने व्यक्ति निगमको महाप्रवन्धक भएकाले पनि निगमले गति लिने विश्वास व्यक्त गरे ।
आधिकारिक ट्रेड युनियनका अध्यक्ष सुभास डाँगीले निगमसँग पर्याप्त सम्भावना भए पनि हालको समस्याबाट पार पाउन निकै महत्वपुर्ण प्रयास आवश्यक रहेको बताए ।
पौडेल निगम सञ्चालक समितिको सदस्यको जिम्मेवारीमा रहंदा आन्तरिक उडानका ६ वटा चिनियाँ जहाजले घाटा बेहोर्दै आएकाले गत साउन १५ देखि ती जहाज सञ्चालन नगर्ने निर्णय भएको थियो । निगमसँग हाल आन्तरिक उडानमा दुई मात्रै जहाज छन् । राजधानी तथा क्षेत्रीय उडानसहित देशभरका २३ भन्दा बढी गन्तब्यमा निगमले आन्तरिक उडान गर्दै आएको छ । अन्तर्राष्ट्रियतर्फ दुई थान वाईड बडी ए ३३० र दुई थान न्यारोबडी ए ३२० जहाजले भारतका तीनसहित विभिन्न मुलुकका नौ गन्तब्यमा अन्तर्राष्ट्रिय उडान भर्दै आएको छ ।
प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू