शुक्रबार, वैशाख ७, २०८१
16:37 | २१:२२

इंग्ल्याण्ड र नेपाली राष्ट्रिय फुटबल टिमबीच हुन लागेको खेल स्थगित

नेपाली लिङ्क अप्रिल ४, २०२०

लन्डन । बेलायत नेपाल कुटनीतिक सम्बन्धको करिब २०४ वर्षको इतिहासमा पहिलोपटक आउंदो २५ मे, २०२० मा इंग्ल्याण्ड र नेपाली राष्ट्रिय फुटबल टिमबीच हुन लागेको खेल स्थगित भएको छ ।

ब्रिटिश फुटबल एसोसिएसन अन्तर्गत न्याशनल लिग सिस्टमका प्रमुख लरेन्स सी जोन्सले हालै एन्फा 
प्रमुखलाई एक पत्र लेखेर त्यस्तो जानकारी दिएका हुन् । उनले कोरोना संक्रमणबाट जोगिन ब्रिटिश सरकारले सबै भेला तथा खेलकुदमा प्रतिवन्ध लगाएकोले त्यस्तो गर्नुपरेको जनाए । तर, उनले यो निर्णयले बेलायतस्थित नेपाली समुदायसंग सकरात्मक सम्बन्ध राख्ने आफ्नो महत्वाकांक्षालाई भने असर नपर्ने जनाएका छन् ।

पत्रमा फुटबल एसोसिएसन, हेड अफ दि नेशनल लिग सिस्टम लरेन्स सी जोन्सले बेलायत सरकार, फिफा र युनियन अफ युरोपियन फुटबल एसोसिएसन जस्ता निकायको सल्लाह बमोजिम खेल स्थगित गरिएको उल्लेख छ ।

अल्डरसट टाउन फुटबल क्लवमा हुने खेलका लागि एन्फा र एफएले तयारी गरिरहेका थिए ।

दूतावासका उपनियोग प्रमुख शरदराज आरनले कोरोना भाइरसको महामारी नियन्त्रणमा आएपछि पुनः खेल तालिका सार्वजनिक गरिने बताए । सहारा यूकेका पूर्व अध्यक्ष मीनबहादुर गुरुङ ‘साईंला’ ले अब यो वर्ष खेल हुने सम्भावना कम रहेको बताए । ‘सहारा यूके, आर्मी ग्यारिजन, दूतावास, हयाम्पसायर एफए भएर तयारी गरिरहेका थियौं तर वर्तमान परिस्थितिले खेल स्थगित भयो’- गुरुङले भने ।

यो वर्ष बेलायतमा नेपाली र अर्को वर्ष इंग्लिस फुटबल टोलीले नेपाल गएर खेल्ने सम्झौता भएको थियो ।

बेलायत नेपाल कुटनीतिक सम्बन्ध भए यता अन्य हरेक ‘डेलिगेसन’ भएपनि फुटबल खेलाडी अहिलेसम्म आएका छैनन् । यसअघि ‘दि होम अफ क्रिकेट’ भनिने लन्डनस्थित लर्डसमा नेपाली क्रिकेट टिम दुई पटक आएर एमसीसी र नेदरल्यान्ड्सबीच टी टवान्टी त्रिकोणात्मक खेल खेलिसकेको छ ।

खेल घोषणाका बेला इंग्ल्याण्ड फुटबल एसोसिएसनको न्याशनल लिग सिस्टमका प्रमुख लरेन्स सी जोन्सले नेपाली फूटबल टोलीले वेम्ली स्टेडियम भ्रमण गर्ने, नेपाली दूतावासले सो टोलीको सम्मानमा विशेष स्वागत समारोह आयोजना गर्ने तथा उक्त भ्रमणलाई फुटबल तथा नेपाली संस्कृतिको महोत्सवको रुपमा मनाइने बताएका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू