शनिबार, वैशाख ८, २०८१
16:08 | २०:५३

युरोपका नेपालीको लागि एनआरएनएको ६० लाखको राहत कोष

नेपाली लिङ्क अप्रिल २, २०२०


लण्डन । कोरोनाबाट सबैभन्दा प्रभावित युरोपमा समस्यामा पर्न सक्ने नेपालीहरुको सहयोगार्थ एनआरएनए युरोप समितिले करिब ६० लाख रुपियाको आपतकालीन राहत कोष स्थापना गर्ने भएको छ । ५० हजार युरोको राहत कोष कोरोना प्रभावित क्षेत्रका अत्यावश्यक ठाउँहरुमा परिचालन गरिने बताइएको छ ।

एनआरएनए युरोप क्षेत्रका संयोजक नारायण आचार्यको अध्यक्षतामा स्काइपमार्फत बसेको बैठकले एनआरएनए युरोप कोभिड १९ सहयोग समिति पनि गठन गरेको छ । संयोजक आचार्यको संयोजकत्वमा रहने समितिमा युरोप क्षेत्रीय उपसंयोजकहरु, युरोप क्षेत्रको प्रतिनिधित्व गर्ने आइसिसी सदस्यहरु, मानार्थ सदस्यहरु, एनसिसीका अध्यक्ष तथा महासचिवहरु र युरोप क्षेत्रका महिला तथा युवा संयोजक समेत रहने जानकारी एनआरएनए युरोप क्षेत्रीय उपसंयोजक कृष्ण तिमल्सेनाले गराए ।

सहयोग समितिको सचिवालयमा संयोजक नारायण आचार्य, उपसंयोजकत्रय मुक्त बहादुर गुरुङ, कृष्ण प्रसाद तिमल्सेना र शुक्रराज न्यौपाने तथा आइसिसी सदस्यहरु रामशरण सिम्खडा (यूके), सुभाष जोशी (बेल्जियम), सुनिल रानाभाट (स्पेन), विजय मोक्तान (जर्मनी) र चिन्तामणी सापकोटा (स्पेन) रहने छन् ।

बैठकले युरोप क्षेत्रमा रहेका नेपाली स्वास्थ्यविज्ञहरु समेट्दै डा बोधराज सुवेदीको संयोजकत्वमा एक उपसमिति पनि गठन गरेको छ । जुन समितिलाई १ साताभित्र युरोपका विभिन्न देशमा समस्यामा परेका नेपालीहरुको पहिचान तथा तथ्यांक संकलन गर्ने तथा अल्पकालीन र दीर्घकालीन रुपमा गर्न सकिने सहयोगको खाका प्रस्तुत गर्ने जिम्मा लगाइएको छ ।

बैठकले एनआरएनए केन्द्रको उच्चस्तरीय समितिसंग समन्वय गर्दै युरोपमा क्रियाशिल हुने र केन्द्रसंग आवश्यक सहयोगका लागि आव्हान गर्ने निर्णय समेत गरेको बैठकमा सहभागी आइसिसी सदस्य रामशरण सिम्खडाले बताए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू