बुधबार, वैशाख १२, २०८१
11:10 | १५:५५

पोहोरको डायरीको पानाबाट…

संस्मरण

भरत लोहोरूँग राई मे १४, २०२०

‘सृजनामा दूरी हुन्न को नजिक को टाढा
साहित्यको नाता हुन्छ विशेष अनि गाढा
सर्जकहरू फूल हुन् उनिएका मालाभित्र
न हुन्छ त्यहां सुकेका पात न त घोच्ने कांढा’
-भरत लोहोरूंग राई

आज १३ एप्रिल सन् २०१९- नेपाली नयां वर्षको दिन सखारै उठेर कफीको चुस्की सिध्याउने बित्तिकै लिडियार्ड पार्कतिर लाग्छु साप्ताहिक ‘पार्क रन’ का लागि । उमेर ढल्किंदै गएपछि आइलाग्न सक्ने सम्भावित स्वास्थ्य समस्याहरूको जोखिममा कटौती गर्नकै लागि भए पनि यो पार्करन मा नियमित उपस्थित हुने गर्छु । नेपाली नयां वर्ष हो तर मेरो निम्ति अरु औसत दिनहरू भन्दा पृथक छैन् किनकि मेरो पूज्य पिताजीको स्वर्गवास भएको पांच महिना पनि नाघेको छैन् र रमाइलो पार्टी र नाचगान भएका कार्यक्रमहरूमा उपस्थित हुन मनले चाहेको छैन् ।

यद्यपि अन्य कार्यक्रमहरू भन्दा पृथक् आज ‘नेपाल मुक्तक प्रतिष्ठान बेलायत’ शाखाको मुक्तक वाचन कार्यक्रममा सहभागिता जनाउन भने आतुर नै छु, पार्क रनमा ५ किमी रनिङ गरेपछि घर फर्किंदा मोबाइलमा सेमन्तजीको ‘मिस कल’ आएको देखें । तर, ‘कलब्याक’ नगरेर भरे बाटो कटाउनी हुने गरी मोबाइल ह्याण्डस फ्रीमा राखेर गफ गर्दै जाने निधो गरें । बेलुकीको मोमो फीजबाट निकालेर माइक्रोवेभमा एक प्लेट बनाएर घुमाए अनि टमाटरको चटनीसंग कप्ल्याककुप्लुक खाएर बाटो लागें । सप्ताहन्त भएकाले छोराछोरी र श्रीमतीजी अझै बिस्तरामा नै लडिरहेका थिए डिस्टर्व नहोस् भनेर बिस्तारै निस्किएं ।

एम फोर (M4) मोटरवेमा ७० माइल प्रतिघण्टाको दरले कारलाई क्रुज कन्ट्रोलमा राखेर हुइकिंदै मोबाइल ‘हयाण्ड्स फ्री’ मा सेट गरि सेमन्तजीलाई कल ब्याक गर्न थालें । उहांको फोन उठेन, लाग्यो वहां पनि बाटो लागिसक्नुभयो होला, चुपचाप गाडी कुदाई रहें ।

‘एम फोर’ मोटरवेको जक्सन ८ देखि उता स्पिड लिमिट ५० एमपीएच मात्र भएकोले निकै पट्यार लाग्दो भइरहेको बेला सेमन्तजीको कल आयो । उहां पनि बाटो लागिसक्नुभएछ, उहांको बसाई लण्डनदेखि पूर्व अनि मेरो पश्चिम । विपरीत दिशा भएपनि गन्तव्यको दूरी भने समान नै हो । यस्ता सामाजिक कार्यक्रम, साहित्यिक कार्यक्रम, बांसुरीवादन कार्यक्रम साथै छोराहरूको तेक्वान्दो खेलको सिलसिलामा हाम्रो बाक्लै भेटघाट भएपनि खासै मज्जाले गफिने भनेको फोनमा नै हो । स्कूल कलेजताका साहित्यमा निकै रस भिजेको थियो हाम्रो, तर बेलायतको लाहुरे भएपछि भने लेख्ने र पढ्ने क्रम मज्जाले टुट्यो हामी दुबैको । अहिले त्यही टुटेको कुण्ठित रहरले जताततै लघारीरहेको छ हामीलाई ।

माहौल पनि भएन त्यतिखेर, तर माहौलको कुरा गरिरहंदा आफू र ब्यक्तिमा पनि निर्भर हुंदोरहेछ । जुन कुरा पल्टन घरभित्रै रहेर नेपाली भाषा साहित्यमा अत्यधिक योगदान दिने प्रवासी नेपाली साहित्य समाजले प्रमाणित गरेर देखाए । यसमा आवद्ध साहित्यकार भाइहरू विश्वासदीप तिगेला, सुरेन्द्र इंगनाम, इश्वर चामलिङ, नरेश काङमाङ, नवराज राई, मिजास टेम्बे, प्रकाश राई, किसन राई, जितेन्द्र चेमजोङ, नरेश नाती, आनन्द रानोहोंछा आदि (सबै नाम याद नभएको) लगातार साहित्यिक गतिविधिले त साहित्यप्रति राख्ने गरेको पल्टनघरको नजरिया नै परिवर्तन भयो । उहांहरूको पहलमा ऊ बेला ‘प्रवासी बेदनाका आवाजहरू’ पल्टन घरभित्रैबाट प्रकाशित हुनु चानचुने कुरो थिएन । खैर मैले यसबारे लेख्ने 
हैसियत राख्छु जस्तो लाग्दैन बरु उनै अभियन्ताहरूले लेखेर दस्तावेजीकरण गरे राम्रो हुने थियो ।

पल्टनघरको साहित्यिक इतिहासमा यो एउटा स्वर्ण चरण थियो जस्तो लाग्छ । यसो भनिरहदा त्यो भन्दा अगाडि अग्रज सर्जकहरू दयाकृष्ण राई, रक्ष राई, टंक वनेम, रामकृष्ण सुनुवार आंकाला, केदार संकेत, केदार राई, काजीमान याक्सो, गणेश राई, सूर्य राई आदिको कलमले दिएको योगदान पल्टने साहित्यले (युद्ध साहित्य) कदापी भुल्नु हुंदैन ।

करिब साढें १ घण्टाको यात्रापछि हाम्रो गन्तब्य नेपाल अथेन्टिक कुजीन रेष्टुरेन्टमा आइपुगियो । गाडी पार्किङको समस्याले मनमनै पिरोलिरहेको बेला भाग्यवश रेष्टुरेन्टकै स्टाफ भाईले पार्किङ देखाइदिनुभयो त्यो पनि सप्ताहन्तमा निःशुल्क, लण्डनमा पैसा तिरेरै भएपनि पार्किङ पाउंदा खुशी हुनुपर्नेमा निःशुल्क पाउंदा हयानवेल बोस्टन रोड लण्डनलाई कार्यक्रमहरूको भेन्यू रोज्दा फाइदै हुंदोरहेछ । सेमन्तजी पनि त्यतिखेर नै आइपुग्नुभयो र निःशुल्क पार्किङको सदुपयोग गरिहाल्नु भयो ।

नेपाली अथेन्टिक कुजिन रेष्टुरेन्टमा सम्पूर्ण सजावटहरूले नेपालीपन बोकेको थियो । उपस्थित मुक्तककारहरूमा डाक्टर रूपक श्रेष्ठ, दुर्गाप्रसाद पोख्रेल, बिनोद अधिकारी, नृपेश उप्रेती, सेमन्त राई, प्रतिमा केसी, कुमार केसी, राज श्रेष्ठ, रविन्द्र जोशी अनि सानी छोरी समृद्धि पोख्रेल हुनुहुन्थ्यो । उपस्थित मुक्तकप्रेमी अग्रजहरूसंगको अभिवादन आदानप्रदानपछि कार्यक्रम संचालक कुशल गजलकार नृपेश उप्रेतीजीले बेलायतमा नेपाली मुक्तक अभियन्ता डा. रूपक श्रेष्ठज्यूको निम्न मुक्तक वाचनबाट कार्यक्रमको शुरुवात गर्नुभयो-

‘हामी यहां नेपाली भाषा साहित्य बग्ने कूलो बनाउंदै छौं
हामी आमाले भात पकाउने चूलो बनाउंदै छौं
हामी बिदेशिएका पटक्कै छैनौ हे साथीहरू हो
हामी त हाम्रो देशको सिमाना अझै ठूलो बनाउंदै छौं’
-डा. रूपक श्रेष्ठ

‘तन’ डायस्पोरा भए पनि ‘मन’ र मस्तिष्कले आफू जन्मेको देश र भाषाकै माया गरिरहेको हुन्छ भन्ने भाव बोकेको उक्त मुक्तकद्वारा कार्यक्रमको थालनीपछि सर्जकबीच औपचारिक परिचय र नयां वर्ष २०७६ को शुभकामना आदानप्रदान भयो ।

पहिलो चरणको कार्यक्रममा प्रत्येक श्रष्टाका पांच पांच मुक्तक वाचन गरिएका थिए जसमा सानी तर तेजस्वी प्रतिभावान ९ वर्षकी नानी समृद्धि पोख्रेलबाट श्रीगणेश भयो ।

समृद्धि पोखरेल (९ वर्ष)-
‘मलाई घुम्रिएको कपाल मन पर्छ
चौबन्दी चोली बबाल मन पर्छ
अरु त अरु त्यो भन्दा पनि धेरै
मलाई मेरो देश नेपाल मन पर्छ’

यसैगरी टेबलमा वरिपरी जसरी बसिएको थियो त्यही क्रममा पालैपालो आफ्ना रचनाहरू वाचन गर्ने क्रम चल्यो । बिल्कुलै पारिवारिक वातावरणमा भएको यो कार्यक्रमको मध्यान्तरमा बिलकुल मौलिक नेपाली परिकारयुक्त खाजापानीको बन्दोबस्त गरिएको थियो । यो प्रवन्धका निम्ति नेपाली अथेन्टिक कुजीन रेष्टुरेन्टलाई धन्यबाद दिनै
पर्ने हुन्छ । मुक्तकको माहौलबाट केही विविधता दिने उद्देश्यले कार्यक्रम संचालक तथा गजल लेखनमा विशेष नाम स्थापना गर्न सक्षम यो पुस्ताका कुशल गजलकार नृपेश उप्रेतीज्यूले केही गहकिला गजलहरू मज्जाले लय हालेरै सुनाउनुभयो ।

कार्यक्रमको अर्को चरणमा भने मुक्तक लेखन कसरी प्रभावकारी बनाउन सकिन्छ भनेर एकापसमा अन्तरक्रिया भएको थियो । बेलायती डायस्पोरामा मुक्तक विधाका अभियन्ता डा. रूपक श्रेष्ठले पोखरा सम्मेलनको बारेमा धेरथोर जानकारी दिनुभयो । उहांले मुक्तक लेखनलाई धनुषकांडको उदाहरण दिएर ‘पहिलो पंक्तिमा धनु उठाउने, दोश्रो लाइनमा तांदो चढाउने, तेश्रो लाइनमा मज्जाले धनु तन्काएर चौथो लाइनले निशानामा डयाम्म प्रहार गर्ने हो’ भनेर अत्यन्त सरल तरिकाले मुक्तकका आधारभूत पक्षहरूको विवेचना गर्नुभएको थियो ।

अन्तमा ‘नेपाल मुक्तक प्रतिष्ठान’ को लोगो अंकित बेज कोसेलीस्वरुप सम्पूर्ण सदस्यहरूलाई प्रदान गरेर ‘नेपाल मुक्तक प्रतिष्ठान बेलायत’ का अध्यक्ष दुर्गाप्रसाद पोख्रेलले आगामी दिनहरूमा पनि यसरी मुक्तकीय जमघट गर्दै जाने जानकारी दिनुभयो ।

समग्रमा वि.सं. २०७६ सालको श्रीगणेश नै मुक्तकबाट गरियो र नयां वर्ष पनि नयां शैलीमा मनाइयो, अब २०७६ सालभरि मुक्तक लेखनलाई गति दिने मनमनै संकल्प गरेको छु हेरौं के हुन्छ ।

करिब सांझ ५ बजेतिर सबैसंग विदा गरी पुन लण्डनको ब्यस्त हाइवे छिचोल्दै बाटोभरी आजका मित्रगण सर्जकहरूका निम्न मुक्तकहरू सम्झंदै गाडी घरतिर हुईंक्याएं ।

कुमार केसीः
खोले पाक्ने चूलो भित्र आगो निभेपछि परदेश पसेको
जुन घाम र वर्षात छानोभित्र छिरेपछि परदेश पसेको
मुग्लान भासियो भन्छन् बुझ्ने नबुझ्ने सबैले अचेल
त्यही झुपडी घर साहुले लिएपछि परदेश पसेको ।

प्रतिमा केसीः
जनताको के लाग्छ र ठेकेदारले कर छलेपछि
घरहरू सबै चुहेका छन् डढेलोले खर जलेपछि
बारी भत्क्यो मोटर आयो विकास भयो भन्छन्
सुनसान छ गाउं, पीपल चौतारी र बर ढलेपछि ।

राज श्रेष्ठः
बिहान ब्यूंझी बिछ्यौनाबाट उठ्न सकियोस्
आंगनी छेउमा पुगेर आंफै चुठ्न सकियोस्
नयां वर्षको यो पनि शुभकामना हजुरलाई
एक अर्काको दुःखसुखमा जुट्न सकियोस् ।

सेमन्त राईः
मनमा वेदना बोकेर जीवन रमाउंदैछु
पसिना बेचेर धनको पोको कमाउंदैछु
एक छाक खान र एक सरो लाउन पनि
परदेशमा म कसैको पाउ नै समाउंदैछु ।

रविन्द्र जोशीः
मीठो धून सारङ्गीको रेट्न सकिएन
आंगनी मैं टेकेर नि भेट्न सकिएन
जिन्दगीको दौडाईमा भेटें धेरै बगरहरू
मनको तृष्णा सागरले मेट्न सकिएन ।

डा. रूपक श्रेष्ठः
वसन्तले सुस्तरी फेरि एक पटक पाइला चालेको छ
आजकाल यो तनले पनि मनभरि के के रहर पालेको छ
मेरो आंगनमा तिम्रो आगमन हुंदा आफैंभित्र यस्तो लाग्यो
गुलाफको ठूटोले फेरि एक पटक कोपिला हालेको छ

नृपेश उप्रेतीः
शीत बनी कर्कलाको पातमा छ माया
जून खोज्दै औंसीको रातमा छ माया
पैतालाको धूलो या शिरको आभूषण
के बनाउने अब तिम्रो हातमा छ माया

भरत लोहोरूंग राईः
बिटुलिए फूलबाट पराग भाग्न सक्छ
सम्हाल न पछ्यौरी दाग लाग्न सक्छ
बन्दकी परिसक्यो जवानी मेरै नाममा
राजीनामा गर अब भाग लाग्न सक्छ ।

दुर्गाप्रसाद पोख्रेलः
म यात्रामा छु, यात्रा आफैं मेरो उत्साहमा छाइरहेछ
म बाटोमा छु र दोबाटो दौडिएर मसंगै धाइरहेछ
यस्तो लाग्छ म स्वयं नै कसैको गन्तव्य हुं सायद
त्यसैले म गन्तव्यतिर होइन, ऊ स्वयं मतिर आइरहेछ ।

विनोद अधिकारीः
लौ भएछ सनसनी भाग बण्डाको कुरोमा
जल्ने भए दन्दनी आफ्नै भान्सा चुलोमा,
यस्तो लाग्छ भ्रष्टाचार उन्मुक्त भएको देख्दा
खाद्नु पर्छ सबै यिनलाई कारागारको दुलोमा।

फोटो साभार- साकार श्रेष्ठ

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू