शुक्रबार, चैत १६, २०८०
07:35 | १३:२०

कोशी प्रदेश नामकरणविरुद्धको आन्दोलन जारी

रासस मार्च २८, २०२३

तस्बिर इकान्तिपुर

मोरङ, १४ चैत–कोशी प्रदेश नामकरण विरुद्धको आन्दोलन यहाँका केही स्थानीयले जारी राखेका छन् । आज पनि उनीहरूले विराटनगरमा नामकरणका विरुद्धमा नाराजुलुश गरे ।
उनीहरूको विरोधले उग्ररुप लिएपछि प्रहरीले बाध्यभई हवाई फायरसहित आश्रु ग्यास प्रहार गरेको थियो ।

विराटनगर रोडशेष चोक वरपर आज भेला भएकाहरुले विरोध प्रदर्शन गर्ने क्रममा उग्र भएपछि स्थिति सामान्य तुल्याउन हवाई फायर र आश्रु ग्यास प्रहार गरेको प्रहरीले जनाएको छ ।

स्थिति सामान्य बनाउन प्रहरीले १७ राउण्ड हवाई फायर र १३ सेल आश्रु ग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता रञ्जनकुमार दाहालले जानकारी दिए । घटनामा छ जना प्रहरी घाइते भएको र आन्दोलनकारीको बारेमा जानकारी तत्काल प्राप्त नभएको प्रवक्ता दाहालले बताए ।

सयौँको सङ्ख्यामा रहेका आन्दोलनकारीले नजिकैका चारतारे बिग होटेलको कफी हाउसको सिसा पनि फुटाएका थिए । प्रहरीले शान्तपूर्वक आन्दोलनकारीलाई सम्झाउँदा पनि अटेर गरेको र सीमाभन्दा बाहिर जान थालेपछि पहिलोपटक पानीको फोहोरा प्रयोग गरेको थियो ।

प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले विराटनगर रोडशेष नजिक आयोजित विरोध रयाली निकालेको थियो ।

यसैगरी आन्दोलनकारीले पथरी र बेलबारी क्षेत्रमा पनि प्रदर्शन गरेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू