शनिबार, वैशाख ८, २०८१
05:46 | १०:३१

ब्रिटेन्स गट ट्यालेन्टमा भिम, ‘सन्डे मर्निङ लभ यू…’ फेरि भाइरल


लन्डन । सन् २०१३ मा ‘सन्डे मर्निङ लभ यू, मन्डे मर्निङ लभ यू…’ गाएर एकाएक हिट भएका ‘पागलप्रेमी’ गायक भिम निरौला केही समय ओझेल परे । रेडिङस्थित एक होटलका म्यानेजर ५४ वर्षीय निरौला जागिर अनि घरायसी कामले छायां परेका थिए । तर, अहिले फेरि चर्चामा आएका छन् उनी । शनिबार उनी ब्रिटेन्स गट ट्यालेन्टको अडिसनमा हजारौं दर्शकमाझ झुल्किए उही पुरानो चर्चित ‘सन्डे मर्निङ लभ यू’ गीतमार्फत । आइटिभीबाट उनलाई लाखौंले हेरे ।

निरौलाको प्रस्तुति देखेर निर्णायक साइमन कोवेल, अमाण्डा होल्डेन लगायत आश्चर्यचकित भए । ‘ब्रिटिश दर्शकले पनि उक्त गीत रुचाइदिंदा म ज्यादै खुशी छु’, उनले नेपाली लिंकसंग भने ।

कोरोना भाइरस संक्रमणका लागि लाइभ प्रस्तुति नभएपनि उक्त शो यसै वर्षको शुरुमा खिचिएको थियो ।

ब्रिटिश अनलाइन र प्रिन्ट मिडियामा उनलाई ‘सेक्रेट युटयूब स्टार’ भन्दै स्थान दिइएको छ । गायक निरौलाले ब्रिटेन्स गट ट्यालेन्टका होस्ट एण्ट म्याकपार्टलिन र डेकलान डोनेल को हुन् चिन्दिन भनेको समाचार पनि चर्चाको विषय थियो । मेट्रो, डेली मेल, इन्टरटेन्मेन्ट डेली लगायत मिडियामा उनीबारे समाचार छापिएका छन् ।

आफ्नो प्रतिभा उजागर गर्ने ब्रिटेन्स गट ट्यालेन्ट बेलायतमा चर्चित ट्यालेन्ट शो मानिन्छ । बिजेताले शाही परिवारका सामुन्ने सांगीतिक प्रस्तुतिको अवसरसंगै दुई लाख ५० हजार पाउण्ड प्राप्त गर्नेछन् ।

को हुन् भिम निरौला ?

गायक निरौलाले कहिल्यै सोचेका थिएनन्, आफ्नो गीत ‘सन्डे मर्निङ लभ यू’ रातारात हिट होला भनेर । गीत सामान्य छ, एउटा पागल प्रेमीले रोमाण्टिक पारामा ‘लभ एक्सप्रेसन’ गरिरहेको दर्शाउंछ यसले । अर्थात ऊ मायामा डुबिरहेको छ र प्रत्येक दिन माया गरिरहन्छ । सामान्य लाग्ने यो गीतको भिडियो लाखौं दर्शकले रुचाए । अंग्रेजी शब्द भएकाले विदेशीले समेत उक्त गीत सुन्छन् ।

टियूबाट अंग्रेजीमा एमए गरेका निरौला आफैंले लेखेका हुन् यो गीत । यसअघिका एल्बम हिट नभइरहेका बेला उनी चर्चित हुन चाहन्थे अनि सोचे अंग्रेजी गाउने । जटिलभन्दा साधारण रचनामै मिठास आउने ठानेर त्यस्तो गीत रचेका रहेछन् उनले । रियल लाइफमा प्रेमको भोको भने होइनन् उनी । वियोगको कुनै कहानी पनि छैन् उनीसंग । बेलायतको रिडिङ बस्ने ५४ वर्षीय निरौलाका दुई छोरा हुर्किसके । तर, युवामाथि लक्षित गरेर प्रेम गीत रचेको उनले सुनाए ।

धनकुटामा जन्मिएर ललितपुर सुनाकोठी आएका उनले ०४४ सालमै रेडियो नेपालमा स्वर परीक्षा पास गरेका थिए । उनले सन् २००५ मा पहिलो एल्बम निकाले क्रियशन, दोश्रो एल्बम प्रत्येक रात निस्क्यो सन् २००९ मा । तेश्रो एल्बम ‘चिनेको छैन्…’ नेपालबाटै रेकर्ड गरेर ल्याए पनि बजारमा आएन ।

बेलायतको नेपाली समुदायमा उस्तो नझुल्किने यी गायकलाई चिन्नेहरु यसअघि धेरै कम थिए । ८ वर्ष बेल्जियम बसेर डेढ दशकअघि यूके छिरेका निरौला फूर्सदमा होम स्टुडियोमै रियाज अनि गीत लेख्दै बस्थे । बजाउन पनि उनलाई खुब सौख लाग्ने । सामाजिक काम भन्दा घरैमा टहलिने उनी अहिले फेरि चर्चामा आएका छन् ब्रिटेन्स गट ट्यालेन्ट शोले ।

ब्रिटेन्स गट ट्यालेन्टमा भिम-

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू