शुक्रबार, वैशाख ७, २०८१
06:11 | १०:५६

मानसिक रोगीको प्रेमील द्वन्द्व ‘चिसो बाफ’

नेपाली लिङ्क मे ३१, २०२३

लेखक कृष्ण कंडेल

“जालीका स-साना प्वालमा केही रौंहरू अल्झेका थिए । लाग्यो जिन्दगी भनेको त्यही प्वालबाट छिरेको पानीजस्तै हो, जुन थाहै नपाइकन सुलुलु बगिहाल्छ । अल्झेका ती रौंहरू भनेका हाम्रा स्मृतिहरू हुन्, जसले हामी बाँचेका थियौं भनेर हामीलाई नै सम्झाइरहन्छन् ।”

यी भनाई उपन्यासकार गोपी सापकोटाका हुन्। गोपीले आफ्नो नविनतम उपन्यास ‘चिसो बाफ’ मा बिरामी युवती र मानसिक स्वास्थ्य विचलित भएको युवक वीचको प्रेम विवाह र त्यसपछिका घटना/परिघटना/कोरोना कहरको दुर्दान्त कथा । खासगरी वर्तमान नेपाली समाज, वैदेशिक 
रोजगारी, उच्च शिक्षाका नाममा विदेश पलायनको लहरलाई औपन्यासिक चस्माले हेर्ने र छाम्ने जमर्को गरेका छन् ।

त्यसो त यो गोपीको पहिलो उपन्यास होइन । यसअघि प्रकाशनमा आएको ‘काँचो कागज’ उपन्यास विशुद्ध नेपाली परिवेश र कता कता गोपीको आफ्नै जीवनसँग मेल खान खोजेको आभास गोपीलाई नजिकबाट चिन्नेहरूको थियो । तर ‘चिसो बाफ’ ले बेलायतमा बस्ने नेपाली ठिटा ठिटीहरूको प्रेम प्रसंगलाई फरक ढङ्गबाट संप्रेषण गर्न खोजेको छ । जीवन र मृत्यु, यौन र जीवन । बिरामी युवतीको यौनचाहनालाई गोपीले अलि भिन्न शैलीमा पस्केका छन् ।

उपन्यास पढ्दै जाँदा २१ औं शताब्दीको डिजिटल प्रविधिमार्फत पाठकलाई रनभुल्ल पार्न लेखक सफल भएको प्रतित हुन्छ । मुना र अमित यो उपन्यासका प्रमुख पात्र हुन्। यी पात्रलाई सघाउन अरू दुईचार जना सहायक पात्रहरू यदाकदा झुल्किरहन्छन् बेलायती विश्वविद्यालयबाट शुरू भएको मुना र अमितको सङ्ग्लो प्रेम अन्ततः शिशाको पारदर्शी फ्रिजरमा गएर अन्त्य हुन्छ ।

मुना र अमितको प्रेमको शुरूआती दिनमै मुनालाई रोग लाग्छ । तैपनि उनीहरूले आफ्नो प्रेमलाई नेपाली परम्परा अनुरूप विवाह बन्धनमा बाँध्छन् । मुनाको शारीरिक अवस्था दिनप्रतिदिन बिग्रँदै जाँदा अमित पनि थाहै नपाई मानसिक रोगी हुन पुग्छ ।

जीवनकाबारे, आफ्नो मायाबारे पटकपटक उसको दिमागमा ‘कन्ट्रोभर्सियल’ विचारले गोता लगाइरहे । त्यसैको प्रतिफल हो उसले आफ्नो कोठामा सिङ्गै मान्छे अट्ने फ्रिजर मगाउनु।

उपन्यासमा कल्पनाशीलताको उचाई प्रशंसनीय छ । मृत्युलाई मरेर अनुभव गर्ने प्रसंग र आफ्नै प्रेमिकामा पुरानो मायाको सजिव छाया देखाएर पाठकलाई स्तब्ध बनाउन सक्ने कलाको बेजोड प्रस्तुति दिएका छन् गोपीले यो उपन्यासमा ।

‘चिसो बाफ’ मा गोपीले आध्यात्मिक चेत र दर्शनशास्त्रको फ्युजनलाई पनि प्रेषित गरेका छन् र त उनी लेख्छन्– ‘जीवन बुझ्नका लागि होइन, भोग्नको लागि हो । ‘जे भेटिंदैन त्यो खोज्नु नै दुःखलाई निम्त्याउनु हो । आफ्नो अगाडि जे आउँछ त्यसलाई स्विकार गर ।’

तपाईं हामी मध्य कतिले जीवनलाई बुझ्ने मात्र चेष्टा गर्यौं होला कतिले भोग्ने मात्र प्रयत्न गर्यौं होला। भोगको मात्र तृष्णाले जिन्दगीलाई पतन उन्मुख बनायो होला । जीवन बुझ्न खोज्दा बुझ्नै नपाई जीवनरूपी सूर्य डुबे होला तर जीवन त यी दुवैको संगम हो। यसलाई सन्तुलित ढंगले अघि बढाउन सके त्यसको मजै छुट्टै हुन्छ ।

आफ्नी प्रेमिकालाई ह्वीलचेयरमा गुडाउँदै शहर डुलाई रहँदा अमितको मस्तिष्कमा आँधीबेहरी चलिरहेको हुन्थ्यो । अमितको त्यो प्रेमील द्वन्द्वलाई गोपीले शालिन ढंगबाट प्रस्तुत गरेका छन् । उपन्यासको मध्यान्तरमा लेखक ’एब्स्ट्रयाक्ट’ गतिमा हिंडछन् । त्यो गतिले मानसिक असन्तुलन भएको प्रेमीलाई चित्रण गर्छ ।

प्रारम्भिक पठनमा उपन्यासले पाठकलाई तान्दैन । कतिपय पाठकलाई ‘ह्या क्या झुर’ भन्ने पनि लाग्नसक्छ तर पढ्दै जाँदा भिन्न शैलीको प्रस्तुति र कल्पनाशिलताको जादुले अन्तसम्म तानिरहन्छ । लेखकको सफलता त्यसैमा झल्किन्छ ।

नेपाली साहित्यमा स्थापित गोपी नाटक र कवितामा पनि बेजोड कलम चलाउंछन्। उनले २०६७ सालमा ‘अ सुसाइड नोट’ नामक अंग्रेजी भाषाको कविता संग्रह पनि प्रकाशित गरेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू