शनिबार, वैशाख ८, २०८१
14:23 | १९:०८

अमेरिकामा नेपाल चिनाउँदै ह्यारी

–मधुकर अधिकारी/रासस मे २, २०२३
वाशिङटन डिसी- विश्वका कुनै पनि देशबाट अमेरिका आएका जो कोही पनि आत्मनिर्भर र आर्थिक रुपले सहज जीवन बिताउने सपना देख्छन् । सुखद भविष्यको सपना साँचेर अवसरको खोजीमा अध्ययन, व्यवसायको सञ्जाल विस्तार, सुव्यवस्थित बसोबासका लागि अमेरिका आउनेहरु आज पनि उत्तिकै छन् ।
आफ्नो भूगोलबाट ठ्याक्कै विपरीत धु्रवमा रहेको अमेरिका आउने चाहना नेपालीको पनि छ । उनीहरुको चाहना अमेरिका आउने अनि आफनो आर्थिक अवस्थामा  आमूल परिवर्तन ल्याउने र पारिवारिक दायित्व पूरा गर्ने नै हुन्छ । यस्तै, नेपालीहरुमध्ये एक हुनुहुन्छ, डा ह्यारी भण्डारी ।
अमेरिकाकै एक प्रतिष्ठित विश्वविद्यालयबाट विद्यावारिधि गरेर मेरिल्यान्ड राज्यबाट निर्वाचित सांसद (डेलिगेट) को हैसियतले भण्डारी अहोरात्र खटिरहनुभएको छ ।  अमेरिकाको एउटा राज्यको सांसदको भूमिका के नै होला र भन्ने लागे पनि यसको प्रक्रिया र संरचना अध्ययन गरेपछि भने सबैले भन्ने गर्छन्– यो कठिन कार्य हो ।
केही थान अङ्ग्रेजी साहित्यका र नेपाली किताब सुटकेसमा हालेर सन् २००५ मा अमेरिका आउनुभएका भण्डारी आधा दशकदेखि भने अमेरिकाको मेरिल्यान्ड राज्यको तल्लो सदनमा सांसदका रुपमा क्रियाशील हुनुहुन्छ । कूल एक सय ४१ सदस्यीय सांसद राज्यका लागि बजेट तर्जुमा, आवश्यक पर्ने नीति नियमको परिमार्जन र गभर्नरको भिटोलाई समेत निष्क्रिय गराउन सक्ने गरी मुख्य कार्य क्षेत्र निर्धारण गरिएको छ । अमेरिका स्वतन्त्र हुनुभन्दा एक सय ४४ वर्षअगाडि नै सन् १६३२ मा स्थापना भएको मेरिल्यान्ड जनरल एसेम्बलीले हालसालै चार सय ४५औँ बैठक सम्पन्न गरिसकेको छ ।
अमेरिकाका संस्थापक पिता भनेर सम्बोधन गरिने जर्ज वाशिङटन, जेफर्सनजस्ता व्यक्तित्वहरुले भावी पिँढीका लागि इतिहास कोरेको भवनमा ह्यारीले पनि उहाँहरुकै पदचाप पछ्याउँदै हुनुहुन्छ । उहाँको राजनीतिक यात्राले त दश वर्ष मात्र पूरा गरेको छ तर आप्रवासी नेपाली अमेरिकीमाझ उहाँ उदाहरणीय बन्नुभएको छ । उहाँ सफलता पछ्याउँदै अघि बढ्नुभएको छ ।
भण्डारीले सन् २०१८ मा आफ्नो डिष्ट्रिकबाट मेरिल्यान्ड राज्यको संसद्मा प्रतिनिधित्व गर्ने पहिलो नेपाली अमेरिकी बनेर इतिहास रच्नुभएको छ । आप्रवासीहरुको न्यून उपस्थिति भएको उक्त क्षेत्रबाट तीनजनाले राज्य संसद्मा प्रतिनिधित्व गर्नेमा ह्यारीले १२ वर्षपछि डेमोक्र्याट पार्टीका तर्फबाट जित हासिल गर्न सफल हुनुभएको थियो । ह्यारीको विजयी अभियानलाई नेपाली आप्रवासीले अङ्गीकार गरेको ‘फर्सीको मुन्टा कूटनीति’ ले काम गरेको टिप्पणी स्वतन्त्र अध्येताहरुको छ । नेपालीहरु आफ्नो करेसाबारीमा फलेको हरियो सागसब्जी छिमेकीलाई दिएर अपनत्वको भावना जागृत गराउन सिपालु हुन्छन् । उहाँको विजयमा यो कूटनीतिले पनि सघाएको छ ।
पेसाले शिक्षक भण्डारीले ‘टिचर फर डेलिगेट’ भन्ने नारा तय गर्नुभएको थियो । यो नाराले उहाँलाई विजय हुन मात्र सफलता दिएन बरु राजनीतिक सम्भावनाको ढोका पनि खोलिदियो । तिनै शिक्षकले अहिले आफ्नो डिष्ट्रिकमा विद्यार्थीहरुको बढ्दो चापलाई कम गर्न विद्यालयको भौतिक संरचना निर्माणका लागि लाखौँ डलर राज्यकोषबाट ल्याउन सफल हुनुभएको छ ।
संसद् बैठकको अन्तिम दिन अनेकन बिलहरु पारित गर्नुपर्ने दबाबमा हाउसका अध्यक्ष, स्पिकर, सिनेटरहरु र डेलिगेटहरु रहेका हुन्छन् भने अल्पमतमा रहेकाहरु कसरी एउटा भए पनि बिललाई पास हुनबाट रोकौँ भन्ने ध्यानमा हुन्छन् । हाल भण्डारी मेरिल्यान्ड राज्यको संसद्मा एसियन अमेरिकन प्यासिफिक आइल्यान्डरको ककसको अध्यक्षसमेत हुनुहुन्छ । संसद् बैठक समापन हुनुभन्दा २६ मिनेटअगाडि यो बिल जब सिनेटका अध्यक्ष बिल फार्गसनले पढेर सुनाउनुभयो, सिनेटमा उपस्थित भएका सिनेटरहरुमध्ये सबैले बिलको पक्षमा मतदान गरेर बिल पारित भयो ।
बिल पारित भएपछि प्रतिक्रिया दिँदै भण्डारीले भन्नुभयो, “अमेरिका विविधतामा एकता भएको विश्वको एक मात्र यस्तो भूमि हो, जहाँ यहाँका नागरिकको चासो र सम्भावनालाई निर्वाचित प्रतिनिधिहरुले उच्च महत्वका साथ कानुनमार्फत सम्बोधन गरिरहेका हुन्छन् । यसैले गर्दा तपाइँ हामीले मानेको चाड दसैँ कानुन बनेर आयो । हुन पनि सङ्ख्यात्मक हिसाबले सानो सङ्ख्यामा रहेको नेपाली अमेरिकीले मनाउने दसैँलाई भण्डारीले उच्च प्राथमिकताका साथ लिएर संसद्मा जानुभयो र पारित गराउन सफल हुनुभयो । अब आगामी मे ३ तारिखमा तय गरिएको र मेरिल्यान्ड राज्यका गभर्नर वेज मुरले हस्ताक्षर गरेपछि यो कार्यान्वयनमा जानेछ ।
मोर्गन स्टेट युनिभर्सिटीका प्राध्यापक डा उत्तम गौलीले भन्नुभयो, “दसैँ बिल पारित हुनु हामीहरुका लागि अभूतपूर्व खुसीको क्षण हो । बिलमा समावेश भएका दुईटा कुराले अमेरिकाको कानुनको किताबमा नेपाल र नेपाली भावनालाई समेटेको छ । पहिलो, यसमा दसैँ नेपालबाट आएको भनिएको छ भने अर्कोतर्फ बसुधैव कुटुम्बकम भन्ने शब्दावलीलाई यसले अङ्गीकार गरेको छ ।”
चार दशकदेखि अमेरिकामा बस्दै आउनुभएका र दसैँ बिलका बारेमा संसदीय समितिमा वकालतसमेत गर्नुभएका डा श्याम कार्कीले खुसी हुँदै भन्नुभयो, “डा भण्डारीले नेपाली समुदायको भावनालाई उच्चतम् प्राथमिकतामा राखेर काम गर्नुभएको पुष्टि भएको छ ।”
मेरिल्यान्डमा हिन्दू तथा वुद्ध मन्दिरको स्थापनाका लागि प्रमुखदाताका रुपमा समेत रहनुभएका कार्कीले यो बिलले मेरिल्यान्ड राज्यमा दसैँले मान्यता प्रदानमात्र गरेको छैन भाइचाराको सम्बन्धलाई पनि स्थापित गरेको छ ।
साहित्यकार तीर्थ पाण्डेयले भन्नुभयो, “यो बिल पारित हुनु हामीहरुका लागि खुसीको कुरा हो । अब हामीले यो बिलले समेटेअनुसारको काम गर्नुपर्नेहुन्छ ।” खासमा यो बिलले हरेक वर्ष अक्टोबर ५ लाई दसैँ डे भनेर मनाइने छ । त्यस दिन मेरिल्यान्ड राज्यका गभर्नरले दसैँ डे भनेर घोषणापत्र सार्वजनिक गर्नुहुनेछ । साथमा त्यो दिन विशेष चाड भएको भनेर अभिभावकहरुले विद्यालयमा आप्mना बालबालिकाहरुका लागि बिदा माग गर्न सक्नेछन् ।
भण्डारी अमेरिकामा रहेका नेपालीहरुका लागि राजनीतिक सफलता पाएसँगै एक नमूना राजीतिज्ञका रुपमा स्थापित हुनुभएको छ । उहाँले गाह्रोसाह्रो परेका बेला कैयन् व्यक्तिलाई सहजीकरणसमेत गर्नुभएको छ । विविध कारणले मृत्यु भएकाहरुको सद्गत गर्नेदेखि आप्रवासनका समस्या, भाषागत समस्याका कारणले कानुनी परिबन्दमा परेकाहरुको सहजीकरणदेखि हरेक कुरामा ह्यारीको साथ र सहयोग रहेको छ ।
सन् २०२१ को कोरोना महामारीका बेला ह्यारीले ५० वटै राज्यका अमेरिकामा नेपालीहरुको बेरोजगार फर्म भर्न सहजीकरण गर्नेदेखि मनोवैज्ञानिक त्रासमा रहेकाहरुलाई ढाडस दिने काम गर्नुभएको थियो । सामाजिक अभियन्ता अर्जुन हमाल भन्नुहुन्छ, “आफैँलाई कोरोना महामारी भए के गर्ने ? भन्ने अन्यौल थियो तर उहाँ मास्क र पञ्जा बोकेर कैयन् आप्रवासीहरुको घरदैलोमा पुग्नुभयो । भण्डारीमा सामाजिक र भावनात्मक रुपले राजनीतिक नेतृत्वमा हुनुपर्ने गुण छ ।”
अहिले पनि भण्डारीको कार्यालयमा सहयोगका लागि हरेक दिन सम्पर्क गर्ने व्यक्तिहरुको कमी छैन । अमेरिकामा चारवटा अलगअलग समयसीमा छ, पूर्वतटीय भूगोलमा भन्दा पश्चिमतटको समयको फरक तीन घन्टा छ । कतिपय अवस्थामा त रातको २ बजे पनि समस्यामा परेकाहरुले भण्डारीलाई फोन गर्ने गर्छन् । विविध कारणले मृत्युवरण गरेकाहरुको अन्तिम संस्कारका लागि अपनाउनुपर्ने प्रक्रियाका बारेमा भण्डारीको कार्यालयले समन्वय गर्दै आएको छ, भने दिवङ्गतहरुको शव नेपाल पठाउनका लागि पनि भण्डारी स्रोत व्यक्तिसरहकै रुपमा काम गर्दै आउनुभएको छ ।
अमेरिकास्थित दूतावास, नेपालमा रहेका परिवारका सदस्यहरुको मञ्जुरीनामा, शवदहन गृहका प्रतिनिधिसँग छलफलदेखि एयरलाइन्ससँग समन्वय गर्ने सबै काम उहाँको कार्यालयले गर्दै आएको छ ।
भण्डारीले मेरिल्यान्डमा रहेका नेपालीको सङ्घसंस्थाका लागि सहयोग कोषमार्फत सात लाख डलरसमेत दिलाउन सफल हुनुभएको छ । यसरी रकम प्राप्त गर्नेहरु हिन्दू, बुद्ध मन्दिर, नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्र, बाल्टिमोर एसोसिएसन अफ नेप्लिज इन अमेरिकालगायतका गैरनाफामूलक संस्था रहेका छन् ।
भर्जिनियामा बस्दै आउनुभएका अन्तर्राष्ट्रिय साहित्य समाज मेरिल्यान्ड च्याप्टरका पूर्वअध्यक्ष भरत बराइली भन्नुहुन्छ, “डेलिगेट भण्डारीले अमेरिकामा रहेका नेपालीका लागि अभिभावककै भूमिका निर्वाह गर्नुभएको छ । उहाँले नेपाली भाषीहरुको कला, संस्कतिको जगेर्नामा त महत्वपूर्ण भूमिका निभाउनु भएको बराइलीले टिप्पणी गर्नुभयो । मेरिल्यान्डका सामाजिक अभियन्ता गौतम दाहाल भन्नुहुन्छ, “ह्यारीले गैरनाफामूलक संस्थाहरुलाई राज्यका तर्फबाट रकम दिलाउनु भएर नेपाली अमेरिकीका लागि महत्वपूर्ण भूमिका निर्वाह भएको छ ।”
अमेरिकाको संसद्मा प्रतिनिधित्व गर्नुहुने ह्यारीले संसद्मा गीता र वेदका पुस्तक छोएर शपथ लिनुभएको थियो । मेरिल्यान्डको राजधानी एनापोलिसमा रहेको उहाँको कार्यकक्षमा नेपालको झन्डा र सगरमाथाको तस्बिर सजिएका छन् । भावी पिँढीका लागि अमेरिकाको मूलधारको राजनीति, कूटनीति, शिक्षा, स्वास्थ्यजस्ता विषयलाई  उच्च तहमा पु¥याउनका लागि उपलब्ध अवसरलाई सहजीकरण गर्न सदैव तत्पर रहेको बताउनुहुने भण्डारीले विगत पाँच वर्षमा मेरिल्यान्ड जनरल एसेम्बलीबाट १७ वटा विधयेक आफैँले प्रस्तुत गरेर पारित गराउन सफल हुनुभएको छ ।
उहाँले नेपाली अमेरिकीलाई मूलधारको राजनीतिमा अभियानकै रुपमा अगाडि बढाउने अभिप्रायले ‘नेपाली फर हिलारी’ र ‘नेपाली फर वाइडेन’ भनेर राष्ट्रपतीय निर्वाचनमा डेमोक्र्याट पार्टीका उम्मेदवारहरुलाई सहयोग गर्न संस्थागत रुपले नै लाग्नुभएको थियो । आगामी दिनमा मतदाताको सुझावलाई मनन गर्दै थप कार्य गर्ने योजना रहेको उहाँ बताउनुहुन्छ ।
प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू