बुधबार, वैशाख १२, २०८१
14:57 | १९:४२

वेल्समा नेपाली गाउं बन्न लागेकामा स्थानीय उत्साहित

नेपाली लिङ्क मार्च २९, २०२३

लन्डन । बेलायतस्थित वेल्समा नेपाली गाउं बनाउने नेपालीको एउटा महत्वपूर्ण परियोजना नेपाली भिलेज यूकेबारे स्थानीयलाई जानकारी गराइएको छ ।

नेपाली भिलेज यूकेले गत २६ मार्च आइतबार परियोजना सञ्चालनका लागी खरिद गरिएको २४ एकर 
(लगभग १९० रोपनी) जग्गा भएको बेलायतको वेल्स् स्थित आवरभिलेज अनि टलीबोन्ट अनस्क (ब्रेकन टाउनबाट ८ माइल टाढा रहेको सानो सुन्दर शहर) का १२० घर परिवारलाई निमन्त्रणा गरेर परियोजना बारे विस्तृत जानकारी गराएको हो ।

‘जुनसुकै नयाँ किसिम वा जति नै महत्वपूर्ण योजना होस् त्यसलाई कार्यान्वयन गर्न वा सफल बनाउन उक्त परियोजना क्षेत्रका स्थानियहरुको सहयोग, सद्भाव र समर्थन अत्यन्त आवश्यक हुन्छ’, परियोजनाका प्रवक्ता विक्रम भट्टराईले भने, ‘यदि त्यसो हुन सकेन भने प्रायः परियोजना असफल हुने निश्चय जस्तै रहन्छ । अझै बेलायत जस्तो देशमा कुनैपनि नयाँ परियोजना सञ्चालन गर्नु पूर्व अपनाउनु पर्ने कानूनी प्रकृया, हरेक सम्वद्ध क्षेत्रका विज्ञहरुको अध्ययन र स्थानियको परियोजना प्रतिको अवधारणालाई प्राथमिकता दिन जरुरी भएकाले हामीले कार्यक्रम गरेका हौं ।’

आगन्तुक स्थानीयलाई प्रवेशद्वारमा नेपाली भिलेज यूके अंकित खादाबाट स्वागत गरेर सुरु गरिएको कार्यक्रम परियोजना डाइरेक्टर मधु गुरुङले सञ्चालन गरेकी थिइन् भने परियोजना प्रमुख मेजर खुशीमान गुरुङ (एमभिओ) ले उपस्थित स्थानीयलाई स्वागतसहित परियोजनाबारे विस्तृत जानकारी दिए ।

परियोजना तीन चरणमा अगाडि बढ्ने प्रमुख गुरुङले जनाए । उनका अनुसार, पहिलो चरणमा खरिद गरिएको २४ एकर जग्गालाई तारबार गरेर सुरक्षित गर्ने, वृक्षारोपण गर्ने, अहिले भएको घरलाई आवश्यक मर्मत गर्ने, नेपाली शैली झल्काउने मूलद्वार (गेट) बनाउने, दुई अलग अलग ठाउंमा ट्वाइलेट बाथरुम र लोकेशन हेरेर नेपाली स्टाइलको दुई “भान्साघर” बनाइने छ ।

आवश्यकता अनुसार गाडी पार्किङको व्यवस्था गरिने, पहिलो प्लटको ठिक बीचमा पुरै स्थानिय ढुङगाबाट चौतारी बनाइने र यसमा नेपालबाट पिपल र बरको विरुवा ल्याएर सारिनेछ । चौतारीसंगै पोखरी हुनेछ भने एउटा भागलाई क्याम्पिङ एरिया छुट्टाइने छ, जहां कमसेकम ५० देखि ८० टेन्टहरु फिट हुनेछन् ।
नेपाली भिलेजमा व्यवस्था हुने पिउने पानी नेपाली कलात्मक ढुंगेधाराबाट बग्ने बनाइने परियोजना प्रमुख गुरुङले जनाए । ।

गुरुङले दोश्रो चरणमा पारम्परिक पिढीसहितको नेपाली घर बनाइने, पिढीको एक छेउमा ढिकी र अर्को छेउमा जाँतो राखिने, घर पुरै नेपालको गाँउहरुमा हुने जस्तो कलात्मक बनाइने र यही संग्रालय जस्तो घर भित्र नेपाली सोभनियर (नेपाली कलात्मक सामग्री) का दुकान हुने पनि अवगत गराए ।

गुरुङले कमसेकम १०० जनाका लागि सुविधायुक्त भवन बनाइने जनाए जसमा योग शिविर ( मेडिटेसन सेन्टर), तालिम अथवा कुनैपनि किसिमका कक्षाहरु सञ्चालन गर्न सकिनेछ । औसत नेपालीहरुका आस्थाका धरोहर ‘काष्ठमाण्डपका दुई नाथहरु’ भनेर चिनिने पशुपतिनाथ र बौद्धनाथ छुट्टाछुट्टै बनाइने पनि परियोजना प्रमुख गुरुङको भनाई थियो ।

सम्भव भएसम्म नेपाल र नेपालीको गौरव सगरमाथा लगायत मुख्य हिमालहरुको प्रतिकृति (रेप्लिका) बनाइने उनले स्थानीयलाई अवगत गराएका थिए ।

त्यसैगरि, तेश्रो चरणमा पहिलो प्लटमा सम्पूर्ण सुविधा सहितको पुरै ठेट नेपाली रेष्टुरेन्ट बनाइनेछ । सम्भाव्यता अध्ययनपछि केही रिटायर्डमेन्ट आवासहरु बनाउने सोच पनि रहेको उनले बताए ।

तत्कालिन बजार मागलाई मध्यनजर गर्दै सोही अनुसार होम स्टे (बीएण्डबी) बनाउने योजना समेत छ ।

परियोजना प्रमुख मेजर गुरुङले स्थानीय काउन्सिलको प्लानिङले गर्ने निर्णयका आधारमा परियोजनाको बनोट, समयावधि अनि लागत तलमाथि हुने पनि स्पष्ट गराएका थिए ।

परियोजनाको जानकारी दिएपछि उपस्थित स्थानीयहरुलाई आफ्ना जिज्ञासा राख्न अनुरोध गरिएको थियो । सो क्रममा स्थानीयले विभिन्न प्रश्नसहित सुझाव, सल्लाह दिंदै यस्तो ऐतिहासिक परियोजना आफ्नो क्षेत्रमा सञ्चालन गर्न लागेकामा धन्यवाद दिएका थिए ।

उपस्थितमध्ये टलीबोन्ट भिलेजका पाका वासिन्दा ७८ वर्षीय मोर्गनले आँफूले जीवनमा धेरै परिवर्तन देखे भोगेको जनाउंदै आफ्नो क्षेत्रमा कुनैपनि विकास र सुविधा वृद्धि गर्नु छ भने यस्ता परियोजनालाई खुलेर स्वागत गर्नुपर्नेमा जोड दिंदा सबैले गडगडाहट तालीले समर्थन गरेका थिए ।

सहभागी प्रायः सबैले बेलायती इतिहासमा गोर्खाहरुको योगदान ऐतिहासिक रहेको कुरा कहिल्यै नबिर्सने भन्दै यस्तै अभूतपूर्व परियोजनालाई आ-आफ्नो तह र तप्काबाट सहयोग र सद्भाव रहने आश्वस्त पारे ।

अत्यन्त उत्साहित देखिएका स्थानीयले तुरुन्त मुनाफा अपेक्षा नभएपनि परियोजनाले तय गरेको ५ हजार पाउण्ड बराबरको शेयरहरु खरिद गर्न इच्छुक रहेको बताएका थिए ।
कार्यक्रममा परियोजना प्रमुख मेजर गुरुङले नेपाली नयाँ वर्ष २०८० को अवसर पारेर १४ अप्रिल २०२३ शुक्रबारदेखि दोश्रो चरणको शेयर खोलिने जानकारी गराउंदै इच्छुकलाई शेयर खरिद गर्न आव्हान पनि गरेका थिए ।

परियोजनाका लागि पहिलो चरणमा २२७ शेयर विक्री भइसकेको छ ।

नेपाली भिलेज यूकेले आउंदो मे २१ तारिख आइतबारपरियोजनाको पहिलो वार्षिकोत्सव भव्यताका साथ मनाउने भएको छ । यस समारोहका निमित्त परियोजनाका डाइरेक्टर मानप्रसाद गुरुङको नेतृत्वमा तयारी सुरु भइसकेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू