बुधबार, वैशाख १२, २०८१
21:55 | ०२:४०

पाकिस्तानको मस्जिद विस्फोटमा मृत्यु हुनेको संख्या १०० पुग्यो

एएफपी/ सिन्ह्वा जनवरी ३१, २०२३

घाइतेलाई अस्पताल लगिंदै । तस्बिर- सिन्हवा

पेशावर, १७ माघ -उत्तरपश्चिम पाकिस्तानको प्रहरी मुख्यालयस्थित मस्जिद विस्फोटको भग्नावशेषबाट मङ्गलबार अझै शवहरू निकाल्ने क्रम जारी छ ।

पछिल्लो विवरणअनुसार हालसम्म सय जनाको मृत्यु भएको पुष्टि भएको छ भने दुई सयभन्दा बढी घाइते भएका छन् ।

प्रान्तीय राजधानी पेशावरमा सोमबार दिउँसोको प्रार्थनाको समयमा आक्रमण भएको थियो । अफगान सीमासँग जोडिएका क्षेत्रहरूमा आक्रमणका घटनाहरू लगातार बढिरहेको छ । मंगलबार अस्पतालबाट एएफपीलाई २३ वर्षीय प्रहरी हवल्दार वजाहत अलीले भने, “म सात घण्टासम्म भग्नावशेषमुनि फसेको थिएँ, मैले बाँच्नका लागि सबै आशा गुमाएको थिएं ।”

पेशावरको मुख्य अस्पतालका प्रवक्ता मुहम्मद असिम खानले घटनास्थलबाट थप शव आएपछि मृत्यु हुनेको सङ्ख्या सय पुगेको बताएका छन् ।

त्यसैगरी दुई सयभन्दा बढी घाइते भएका अधिकारीहरूले बताएका छन् । सहरका प्रहरी प्रमुख मुहम्मद इजाज खानले एएफपीलाई दिएको जानकारीअनुसार मृतकहरूमध्ये ९० प्रतिशतभन्दा बढी प्रहरी नै थिए जसमध्ये तीन सयदेखि चार सय जना मुख्यालय परिसरको मस्जिदमा प्रार्थनाका लागि भेला भएका थिए ।

हिंसात्मक हमलाको निन्दा

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले पाकिस्तानको पेशावरमा सोमबार भएको हिंसाको घटनाको निन्दा गरेका छन् ।

संयुक्त राष्ट्रसंघीय महासचिव गुटरेसका प्रमुख प्रवक्ता स्टेफन डुजारिकले सो घटनाको निन्दा गर्दै गुटरेसले नागरिकको शान्तिपूर्ण रुपमा आफ्ना धार्मिक आस्था भएका स्थानमा उपस्थित हुन र पूजा गर्न पाउने अधिकारको सम्मान गर्नुपर्ने बताएको जनाए ।

विश्वका नागरिकले आफ्नो आस्था रहेका स्थानमा जम्मा हुन पाउने र धार्मिक कार्य गर्न पाउने विश्वव्यापी मानवअधिकारको विषय हो भन्दै यस्ता कार्यको सम्मान गर्न महासचिवले विज्ञप्तिमार्फत् आग्रह गरेका छन् ।

महासचिव गुटरेसले सो हलामा परेर ज्यान गुमाएका व्यक्तिप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै उनीहरुको परिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।

उनले यस्ता जघन्य अपराधमा संलग्न हुने व्यक्तिको खोजी गरेर उनीहरुलाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने पनि बताए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू