शुक्रबार, चैत १६, २०८०
10:10 | १५:५५

‘के लत बस्यो’लाई ३१ लाख बढी ‘भ्यूज’

रासस जनवरी २९, २०२३

गायक तिलकसिंह पेला

काठमाडौं । एकाएक चर्चा कमाएको गजल ‘के लत बस्यो’ले सार्वजनिक भएको १७ दिनमै युट्युबमा ३१ लाख बढी भ्यूज पाएको छ । गायक तिलकसिंह पेलाको स्वर रहेको उक्त गजलको म्यूजिक भिडियो शनिबारसम्म ३१ लाख १४ हजारपटक हेरिएको छ ।

एक लाख १५ हजारले ‘लाइक’ र झण्डै १४ हजारले गजलमाथि टिप्पणी गरेका छन् । गत पुस २८ मा गायक पेलाको आफ्नै युट्युब च्यानलबाट गजल सार्वजनिक गरिएको थियो । राग मालकौंसमा आधारित सो गजलबाट गायक पेलाले छोटै अवधिमा स्रोता-दर्शकको मन जित्न सफल भएका छन् ।

गायक पेलाकै संगीत रहेको गजललाई डा प्रदीकुमार मैनालीले लेखेका हुन् । गजलमा संगीत संयोजन रिदम कँडेलले गरेका छन् । शास्त्रीय संगीतका साधक पेलालाई लोकप्रियता दिलाएको उक्त गजलले युट्युबमा भ्यूजसँगै प्रशंसा पनि उत्तिकै बटुलिरहेको छ ।

सङ्गीतकर्मी, राजनीतिज्ञ, खेलाडीदेखि सार्वजनिक जीवनको उच्च ओहोदामा रहेका व्यक्तिले पनि सो गजललाई मन पराएर फेसबुक, टिकटिकजस्ता माध्यमबाट साझा गरिरहेका छन् । खँदिला शब्द, रागमा आधारित संगीत र पाको गायकीले गजलमा प्राण भरेको छ ।

पेलाको गजलले गम्भीर भाव र शैलीका संगीत सिर्जनालाई रुचाउने स्रोता-दर्शक पनि उत्तिकै छन् भन्ने प्रमाणित गरिदिएको छ । डिजिटल प्रविधिले गीत-गजल सुन्नेभन्दा हेर्नतिर दर्शकलाई डोरयाइरहेका बेला यो गजलले भने मुग्ध भएर सुन्न धेरेलाई बाध्य पारिरहेको छ । न कुनै कथानक, न कोही पात्र । गीतको म्यूजिक भिडियो पनि सामान्य छ ।

गायक पेलाले स्टुडियोमा गाइरहेको, डा मैनालीले गजल लेखिरहेको र वाद्यवादकले वाद्ययन्त्र बजाइरहेको दृश्य मात्र त्यसमा समेटिएको छ । लालित्यपूर्ण स्वर, लयमा माधुर्यता र मर्मस्पर्शी शब्दले गजललाई जीवन्त बनाएको छ । मौलिक र सिर्जनात्मक प्रस्तुति गजलको अर्को विशेषता हो ।

गायक पेलाको मात्र नभएर गजलकार डा मैनाली र संगीत संयोजक कँडेलको अब्बल प्रतिभा यो गजलबाट मुखरित भएको छ । बैतडीमा जन्मिएका पेला आफैँमा सङ्गीतका गुरुसमेत हुन् ।

उनले काठमाडौँमा श्रीकृष्ण गुरुकुल संगीत पाठशाला सञ्चालन गर्दै आएका छन् । गायक पेलाले विसं २०५३ मा ‘आँशु’, २०५४ मा ‘आँशु–२’, र सोही एल्बमको तस्रो भागका रूपमा केही वर्षअघि ‘निर्जन किनार’ सार्वजनिक गरेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू