भो, न बर्साउ अब क्षेप्यास्त्रहरु
निशाना नबनाऊ निर्दोष मानव जीवनलाई
थुप्रै श्रोत साधन र परिश्रम खर्च गरेर बनाइएका संरचनाहरुलाई
जाडो याममा विद्युत उत्पादन केन्द्रहरूमा हमला गरेर के उपलब्धि हासिल गरयौ तिमीले?
बालबालिका र बुढाबुढीलाई मुटु छेड्ने जाडोमा कठ्यांग्रिन वाध्य पारेर के पायौ तिमीले ?
कहाँ गयो सार्वभौम समानताको राष्ट्रसंघीय सिद्धान्त?
कहाँ गयो विश्वबन्धुत्वको नारा, कहाँ गयो वर्गविहीन समाज निर्माण गर्ने सपना ?
लियो टोल्सटोय, म्याक्सिम गोर्की र फ्योदोर दोस्तोयेव्स्कीको मुलुकबाट
यो कस्तो उपहार हो मानव जातिलाई ?
भयो, पुग्यो, बन्द गर अब क्षेप्यास्त्र बर्साउन ।
सुख, सुविधा र प्रगतिको नाममा
हामीले बस्नै नबन्ने तुल्याउदै छौं हाम्रो एक मात्र बास – पृथ्वीलाई
धकेली सकेका छौं हजारौं जीवजन्तु र वनस्पतिका प्रजातिलाई लोप हुने संघारमा
विकासको नाममा हामीले गरेको अव्यवस्थित शहरीकरणले
स्थल, जल र वायु प्रदूषणले
बनाउंदै लगेको छ हाम्रो जीवनलाई नै दुरुह,
लम्बिंदैछ भोकाहरुको पंक्ति
अत्यधिक धनीहरुको अट्टहासका बीच
असमानता र विभेदको यो महासागर के कहिल्यै पुरिएला त हाम्रो जीवन कालमा ?
प्रकृतिसंग सहभाव, सहकार्य र सहजीवन कहिले सिकौंला हामीले
अन्तरिक्ष तर्फको यात्रालाई आफ्नै अन्तर्मनतर्फ मोडेर
कहिले बाँचौंला हामी खुसी, सुख र सन्तुष्टिका साथ ?
‘संगच्छध्वं संवदध्वं सं वो मनांसि जानताम्’ को मूल मन्त्रलाई
साकार पार्दै आफ्नै जीवनमा
ठूलो र शक्तिशाली बन्ने मोहमा
बन्द गर यो मृत्युको उपहार आफ्नै छिमेकी र जनतालाई
भो, न बर्साउ अब क्षेप्यास्त्रहरु
बन्द गर यो ताण्डव नृत्य
आऊ हातेमालो गरौँ नयाँ मानव जन्माउने
आऊ संकल्प गरौँ मानवता जोगाउने।
-भगीरथ योगी
लन्डन, १ जनवरी २०२३