शनिबार, वैशाख ८, २०८१
13:36 | १८:२१

कतार विश्वकपमा १७२ गोलको नयाँ कीर्तिमान्, अर्जेन्टिनालाई प्रथम उपाधि     

रासस-सिन्ह्वा डिसेम्बर १९, २०२२

दोहा, ४ पुस -कतारमा सम्पन्न विश्वकप फुटबलमा अहिलेसम्मकै सर्वाधिक गोलको रेकर्ड कायम भएको छ । यो वर्ष कतारमा सम्पन्न विश्वकपमा १७२ गोलको कीर्तिमान् बनेको छ ।

आइतबार राति अर्जेन्टिना र फ्रान्सबीच भएको विश्वकप फाइनलमा दुबै टीमले बराबर तीन गोल गर्दै कूल छ गोल गरी खेललाई सनसनीपूर्ण र रोमाञ्चक बनाएका थिए ।

फाइनल खेलको अतिरिक्त ३० मिनेटमा पनि गोल अन्तर बराबर बनेपछि भएको ‘पेनाल्टी सुट आउट’मा साविक विजेता फ्रान्सलाई ४–२ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना उपाधि चुम्न सफल भएको हो ।

कतार विश्वकप अहिलेसम्मकै सर्वाधिक गोल गर्ने प्रतियोगिता भएको छ ।

सन् २०२२ को विश्वकपमा १७२ गोल भएको छ । सन् १९९८ र २०१४ को खेलहरूमा भएका समान १७१ गोलभन्दा यो एक गोल मात्र बढी हो ।

स्पेनले कोस्टारिकालाई ७–० ले हराएको र इंग्ल्यान्डले इरानमाथि ६–२ को जित हात पार्दा पनि समूह चरणमा ६ गोलरहित बराबरी खेल भएका थिए ।

सन् २०२६ को संस्करणमा लगभग निश्चित रूपमा गोलको नयाँ रेकर्ड हुनेछ किनकि विश्वकप ४८ टोलीमा विस्तार हुनेछ । यसको अर्थ न्यूनतम ८० खेलहरूको साथ हुने प्रतियोगिताले धेरै गोल पाउने नै छ ।

फिफाले १२ टोलीको चार समूह वा १६ टोलीको तीन समूहमा खेलाउने निर्णय गर्नेछ ।

एम्बाप्पेलाई गोल्डेन बुट, मेस्सीलाई गोल्डेन बल

कतार विश्वकपमा सर्वाधिक गोलकर्ताका रुपमा फ्रान्सका केलियन एम्बाप्पेले सुनौलो जुत्ता (गोल्डेन बुट) पाएका छन् । उता उपाधि विजेता अर्जेन्टिनी टिमका सुपरस्टार लियोनल मेस्सीले विश्वकै सर्वोत्कृष्ट खेलाडीका रुपमा गोल्डेन बल पाएका छन् ।

दोहास्थित लुसेल रंगशालामा सम्पन्न निकै नै रोमान्चक र नाटकीय खेलमा फ्रान्सलाई पेनाल्टी शुटआउटमा पराजित गरी लियोनल मेस्सी प्रेरित अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकप उपाधि उचालेको हो ।

विश्वकपका सात खेलमा आठ गोल गरेका पेरिस सेन्ट जर्मेइन (पीएसजी)का २३ वर्षे सुपरस्टार एम्बाप्पेले पहिलोपल्ट गोल्डेन बुट जित्न सफल भएका छन् ।

मेस्सी विश्वकपकै उत्कृष्ट खेलाडी बनेको यो दोस्रोपल्ट हो । अर्जेन्टिनाले फाइनलमा हारेको सन् २०१४ को विश्वकपमा पनि मेस्सी सर्वोत्कृष्ट खेलाडी बनेका थिए ।

अर्जेन्टिनाका गोलकिपर इमिलियानो मार्टिनेज कतारमा सम्पन्न फिफा विश्वकप २०२२ को उत्कृष्ट गोलकिपर चुनिएका छन् ।

फाइनलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गर्दा एक पेनाल्टी बचाएका मार्टिनेजले विश्वकपको ‘गोल्डेन ग्लोभ्स’ पाएका छन् ।

अर्जेन्टिनाका मिडफिल्डर इन्जो फर्नान्डेज कतारमा सम्पन्न फिफा विश्वकपमा उत्कृष्ट युवा खेलाडीको अवार्ड जित्न सफल भएका छन् । २१ वर्षे फर्नान्डेजले अर्जेन्टिनालाई विश्वकपको उपाधि जिताउन महत्त्वपूर्ण भूमिका खेलेका थिए ।

यसपल्ट विश्वकपमा मेस्सीले फाइनलमा दुईसहित कूल ७ गोल गरे भने तीन गोलका लागि सहयोग गरेका थिए । खेलमा मेस्सीको जादुले अर्जेन्टिनासँग खेलेका सबै टोलीलाई तर्साएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू