शुक्रबार, चैत १६, २०८०
15:15 | २१:००

सम्झनामा हरि सर

नेपाली लिङ्क डिसेम्बर १२, २०२२

स्वर्गीय हरिकुमार प्रसाईं

हरि सरले यो संसार छोडेर जानु भयो । अमेरिकाको नर्थ क्यरोलाइनामा क्यान्सरको उपचार हुँदाहुँदै उहाँले ३ डिसेम्बर २०२२ का दिन हामीलाई छोडेर जानु भयो । हरि सरको मृत्युको खबर सुनेपछि उहाँसँगका सम्झनाहरु मनभरि खेल्न थाले र मैले उहाँको बारेमा केही नलेखी बस्नै सकिनँ ।

हरि सर अर्थात् हरि दाई अर्थात् हरि कुमार प्रसाईं । उहाँ एक असल शिक्षक, कृषि वैज्ञानिक, शिक्षासेवी र समाजसेवी हुनुहुन्थ्यो । उहाँ झापा जिल्लाका दुई सफल र चर्चित स्कूलका संस्थापक, प्याब्सनका पूर्व केन्द्रिय उपाध्यक्ष र झापा प्याब्सनका पूर्व अध्यक्ष हुनुहुन्थ्यो ।

आफ्नो जीवनको लगभग ४२ वर्ष शिक्षा क्षेत्रमा लगानी गर्नु भएका हरि सरका शुरुका दिनहरु धेरै संघर्षपूर्ण रहे । तर, पनि उहाँ ठूलो हिम्मतका साथ निरन्तर अगाडि बढिरहनु भयो । उहाँले गर्नु भएको मेहनत र संघर्ष, उहाँले काममा दिनु भएको निरन्तरता र पाउनु भएको सफलता धेरै मानिसका लागि प्रेरणाको श्रोत बनेका छन् ।

उहाँको जागिरे जीवनको सुरुवात झापाको घैलाडुबाको आदर्श विद्या मन्दिर माबिबाट भएको थियो, जहाँ उहाँले वि.सं २०३१ बाट पढाउन शुरु गर्नु भएको थियो । शिक्षण पेशालाई नै स्थायी बनाएर निरन्तरता दिनका लागि उहाँले बि.सं २०४२ सालमा ६, ७ जनाको बौद्धिक समूह बनाएर झापाको बिर्तामोडमा ‘सगरमाथा बोर्डिङ स्कूल’ स्थापना गर्नुभयो । म त्यही स्कूलको पहिलो ब्याचको छात्रा थिएं ।

पहिलो वर्ष कक्षा ६ र ८ गरेर जम्मा दुईटा मात्रै कक्षा सुरु भएका थिए । दोश्रो वर्ष ६, ७, ८ र ९ हुँदै तेश्रो वर्ष अर्थात् बि.सं. २०४५ सालमा पहिलो वर्षका विद्यार्थीहरुले एस.एल.सी. दिएका थिए । सेन्ट अप टेष्ट परिक्षामा सगरमाथा बोर्डिङ स्कूलले प्रथम स्थान ओगट्न सफल भएको थियो भने एस.एल.सी.मा पनि राम्रो स्थान ल्याएको थियो ।

त्यसपछि स्कूलको राम्रो नाम चल्यो, धेरै विद्यार्थीहरु आउन थाले । हरि सरमा अझ धेरै उत्साह थपियो । अझै अघि बढौ भन्ने भावनाले उहाँले अर्को बौद्धिक जमातसँग मिलेर दीपज्योति विद्या मन्दिर नामक अर्को बोर्डिङ स्कूल झापा, शनिश्चरेको अर्जुनधारामा स्थापना गर्नु भयो । त्यो स्कूलले झनै सफलता पायो ।

कुनै पनि काममा सन्तुष्ट हुनु भनेको विकासको गति रोकिनु हो भन्ने कुरामा विश्वास गर्ने हरि सर अझै अघि बढ्न खोज्नु भयो । त्यसपछि उहाँले न्युटन्स एजुकेसन एकाडेमीको स्थापना गर्नु भयो । त्यो स्कुल त झनै सफलताको शिखर मै पुग्यो । त्यो स्कुलमा अहिले नर्सरीदेखि प्लस टुसम्मको पढाइ हुन्छ र करिब १५०० विधार्थीले अध्ययन गर्छन् ।
यसको साथसाथै उहाँले केही वर्ष अघि झापाको विर्तामोड नगरपालिकाको बुट्टाबारीमा अन्तर्राष्ट्रिय स्तरको एभरेस्ट स्मार्ट एजुकेसन एकाडेमी नामक सेकेन्डरी स्कुलको स्थापना गर्नु भयो । त्यो स्कूल पनि सफलतापुर्वक चलिरहेको छ ।

यसरी हरि सरको लगाव र मेहेनतले सफलता पाउदै गयो । तर, अचानक उहाँको जीवनमा एउटा नराम्रो घुम्ती आयो । उहाँलाई पेटको क्यान्सरले आक्रमण गरयो । एक्कासी क्यान्सर रोगले आक्रमण गरेको थाहा पाउँदा परिवारमा मात्रा नभएर सबै स्कुलहरुकै परिवारमा रुवावासी भयो । रोग पत्ता लाग्ने बित्तिकै उपचार सुरु भयो । त्यो आज भन्दा ८ वर्ष अगाडिको कुरा हो । काठमाडौ, दिल्लीको अपोलो अस्पताल र अमेरिकाको क्यालिफोर्नियाको एक अस्पतालमा उहाँको निरन्तर उपचार चलिरह्यो ।

समय बित्दै गयो । समय बित्दै जाँदा उहाँलाई बिरामले च्याप्दै गयो । केही महिना पहिले हामी नेपाल गएको बेलामा उहाँलाई काठमाडौँमा भेटेका थियौं । त्यतिखेर उहाँ उपचार कै क्रममा हुनु हुन्थ्यो । लगभग दुई घण्टा कुराकानी भएको थियो । उहाँ बिरामी भए पछिको पहिलो भेट थियो त्यो, र त्यो नै उहासँगको हाम्रो अन्तिम भेट पनि हुन गयो ।

हाम्रो भेटमा उहाँ धेरै नै दुब्लो देखिनु भएको थियो र कमजोर पनि हुनु भएको थियो । तर उहाँको इच्छा शक्ति एकदमै दह्रो थियो । बिरामी भएको बेलामा पनि उहाँका विचारहरुमा प्रेरणाको श्रोत र एकप्रकारको उर्जा पाइन्थ्यो ।

हरि दाई नाताको हिसाबले मेरो ठूलो बुवाको छोरा हुनुहुन्थ्यो भने पेशाको हिसाबले उहाँ मेरो शिक्षक पनि हुनुहुन्थ्यो । उहाँले मलाई कक्षा ८ देखि १० सम्म कृषि विषय पढाउनु भएको थियो । पढाउने कलामा जादु भएको मान्छे लाग्नु हुन्थ्यो उहाँ मलाई ।

विद्यार्थीहरुले कृषिलाई बोर विषय ठाने पनि उहाँले साह्रै आकर्षक तरिकाले पढाउनु हुन्थ्यो । सबै बालीनालीका वैज्ञानिक नाम पनि उहाँले पढाउँदा पढाउँदै कण्ठ गर्न सकिन्थ्यो ।
विद्यार्थीहरुले उहाँको साह्रै सम्मान गर्थे, भनेको मान्थे । उहाँ पनि हाँसी हाँसी सम्झाउनु हुन्थ्यो । फेरि विद्यार्थीहरु उहासँग डराउन पनि एकदमै डराउँथे । म उहाँको पेशागत सफलता त्यसैमा पाउँथे ।

कक्षा ८ मा पढ्दा एकदिनको एउटा घटना जोड्न मन लाग्यो मलाई । म असाध्यै अनुशासित छात्रा थिएँ । गृहकार्य जसरी भए पनि गर्थे । एकदिन चाहिं गृहकार्य सकेर कपी ब्यागमा राख्न बिर्सेंछु । कक्षामा हरि सरले भन्नुभयो, ‘सबैले आफ्नो आफ्नो गृहकार्य निकाल ।’

म कपी खोज्न थाले, तर भेट्दै भेटिन । कपी त घर मै छुटेछ । त्यो मेरो गृहकार्य नलगेको पहिलो दिन थियो । डरले मेरो होस हवास उड्यो । अब के भन्ने होला भनेर मनमनै आँफैंलाई प्रश्न गरें । फेरि सोचे, जे हो त्यही भन्छु ।

सरले भन्नु भयो, ‘गृहकार्य नल्याउने उठ ।’ म पनि लजाउँदै डराउँदै उठेँ । सरले भन्नुभयो, ‘ए आज यता पनि ?’

मैले निकै ठूलो साहस बटुलेर उत्तर दिए, ‘गृहकार्य त गरेकी थिएँ तर कपी ब्यागमा राख्न बिर्सेंछु सर ।’
सरले प्रश्न गर्नु भयो, ‘अहिले गएर ल्याउनु परयो भने ल्याउन सक्छेउ ?’

मैले पनि ‘सक्छु’ भन्ने उत्तर दिएँ । त्यसपछि ‘आजलाई माफ दिएँ, अबदेखि नबिर्सनु’ भनेर बस्ने अनुमति दिनु भयो । बल्ल मेरो होस आयो । उहाँसँगको यो घटना म कहिल्यै बिर्सन्न ।

त्यस्तै अर्को घटना पनि रोचक छ । म कक्षा ८ मा जाने बित्तिकैको कुरा हो । अल्जेब्रा फिटिक्कै बुझ्दिनथें । यो कुरा मेरो आमाले हरि सरलाई भन्नु भएछ । हरि सरले एक दुई दिन उहाँसँग पढ्न पठाइदिनु भन्नु भएछ । त्यसपछि म दुई दिन हरि सरको घरमै पढ्न गएँ । खोइ कसरी सिकाउनु भयो कुन्नी, उहाँले दुई दिनमै कहिल्यै नबिर्सने गरी बुझाई दिनु भयो । उहाँले दिनु भएको यो ज्ञान मेरो जीवनमा कहिल्यै नबिर्सने ज्ञान भयो । त्यसैले म उहाँलाई पूजनीय गुरु भन्छु ।

पछिल्लो चरणमा उहाँले मैले लेखेका रचनाहरु पढेर र मैले युट्युबमा बनाएका भिडियोहरु हेरेर खुशी हुँदै मीठो प्रतिक्रियाहरु दिनु हुन्थ्यो । उहाँले दिनुभएका प्रतिक्रिया विशेष महत्वपूर्ण लाग्थे मलाई ।

यतिखेर हरि दाईको अनुपस्थितिमा उहाँले दिनु भएको ज्ञान, प्रेरणा, हौसला, माया र उहाँसँग बिताएको समयको सम्झना आइरहेको छ । मलाई लाग्छ, हरि सरको अभाव सधैं खट्किने छ । उहाँ हिंड्नु भएको इमान्दारिता, मेहेनत र धैर्यताको बाटो हामी सबैका लागि प्रेरणाको श्रोत बन्नेछ ।

हार्दिक श्रद्धान्जली हरि दाजु । हजुरलाई स्वर्गीय आनन्द प्राप्त होस्, बैकुण्ठमा बास होस् ।

निर्मला प्रसाईं सापकोटा, हाल- लन्डन

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू