बुधबार, वैशाख ५, २०८१
22:44 | ०३:२९

सामुदायिक अभियानको प्रभाव: बेलायतको जनगणनामा समेटिए उल्लेख्य नेपाली

नेपाली लिङ्क डिसेम्बर ३, २०२२

फाइल तस्विर

लन्डन । इंग्ल्यान्डमा गत वर्ष सम्पन्न जनगणनाको हालै सार्वजनिक तथ्यांकले यहाँ नेपाली समुदायको उल्लेख्य उपस्थिति देखाएको छ।

अफिस फर नेश्नल स्टाटिक्टिस (ओएनएस) ले जारी गरेको तथ्यांकलाई आधार मान्दै बेलायतस्थित सेन्टर फर नेपाल स्टडिज (सिएनएस) यूकेले बेलायतमा नेपालीको संख्या एक दशकको अवधिमा ७२ प्रतिशतले बढेको पाइएको जनाएको छ ।  

सिएनएस यूकेका प्रमुख कार्यकारी निर्देशक लोकेन्द्रपुरुष ढकालले शुक्रबार जारी गरेको विज्ञप्तिमा इङल्यान्ड र वेल्सको जनगणनामा जातीयता नेपाली (गोर्खा समेत) उल्लेख गर्नेहरूको संख्या १ लाख ३ हजार ८७५ पुगेको छ ।

यसअघि सन् २०११ को जनगणनामा इङल्यान्ड र वेल्समा जातीयता ‘नेपाली’ बताउने नेपालीहरूको संख्या ६० हजार २०२ मात्र थियो।

गत वर्षको जनगणनामा नेपाली समुदायका सदस्यहरु सक्रियतापूर्वक सहभागी भएका कारण पनि तथ्यांकले यो संख्यामा नेपालीहरु समेटेको ठानिएको छ। 

राज्यको आधिकारिक तथ्यांक हुने भएकाले त्यसमा नेपालीहरूको वास्तविक संख्या दर्ज हुन सके सरकारी तथा गैरसरकारी निकायबाट नेपालीहरूमाथि विभिन्न नीतिगत योजना ल्याउन सजिलो हुने विश्वास गर्दै गणनामा फारम भर्न अपिल गरिएको थियो। 

समुदायलाई गणनामा भाग लिन प्रेरित गर्दै सिएनएस यूकेले विभिन्न चेतनामूलक कार्यक्रम गरेको थियो भने एनआरएनए इंग्ल्यान्ड राज्य समन्वय परिषदले समुदायस्तरमा अभियान गरेको थियो।  

गत वर्षको जनगणनामा बेलायतमा रहेका नेपालीहरूको सक्रिय सहभागिता रहेको निस्कर्ष निकाल्दै सिएनएस यूकेले यसमा सहयोग पुरयाउने गैरआवासीय नेपाली संघ (एनआरएनए) यूके लगायत सबै नेपाली सामुदायिक संघसंस्था व्यक्ति तथा सन् २०२१ को जनगणनामा सिएनएस यूकेका तर्फबाट गरिएको सामुदायिक अभियानको संयोजनका लागि सिएनएस यूकेका अनुसन्धाता नरेश खपांगी मगरप्रति धन्यवाद ज्ञापन गरेको छ । 

तस्विर एज्रा श्रेष्ठ

त्यस्तै, जनगणनामा नेपालीहरुको सहभागिता बढाउने उद्धेश्यसहित सामुदायिक अभियान सञ्चालन गरेको एनआरएनए इंग्ल्यान्ड राज्य समन्वय समिति इंग्ल्यान्डका तत्कालीन अध्यक्ष एवम् एनआरएनए यूके उपाध्यक्ष दीपक श्रेष्ठले सार्वजनिक तथ्यांकमा बेलायतका धेरै नेपाली समेटिएको भन्दै खुशी व्यक्त गरेका छन्।

जनगणनामा सहभागी हुन प्रेरित गर्ने उक्त अभियानमा साथ दिने सिएनएस यूके, इनास यूके, बेलायतस्थित सबै नेपाली संघसंस्था, अभियन्ता, स्वयमसेवकप्रति श्रेष्ठले धन्यवाद ज्ञापन गरेका छन्।

त्यसैगरी, सो अभियानमा खटिने अभियान सहसंयोजक गजेन कटुवाल र महेश अधिकारी, ओएनएस सल्लाहकारहरु समिर गुरुङ र माया डंगोल केसी, गोविन्द खरेल, कृष्ण वैद्यसहित इंग्ल्यान्ड राज्य परिषदका तत्कालीन सबै पदाधिकारीलाई पनि उनले धन्यवाद दिएका छन्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू