शुक्रबार, वैशाख ७, २०८१
18:19 | २३:०४

लन्डन अक्टोबर ग्यालरीमा गोविन्द साह ‘आजाद’ को कला प्रदर्शनी 

नेपाली लिङ्क डिसेम्बर ३, २०२२

लन्डन – लन्डनको प्रतिष्ठित अक्टोबर ग्यालरीमा युवा कलाकार गोविन्द साह ‘आजाद’ का कलाकृतिहरुको एकल प्रदर्शनी शुरु भएको छ।

‘अनुपस्थित उपस्थित’ नाम दिइएको उनको प्रदर्शनीमा लाइनेन र क्यानभासमा तेल र एक्रेलिकको मद्दतले उनले सिर्जना गरेका ठूला तथा साना कलाकृतिहरु राखिएको छ।

प्रदर्शनी २८ जनवरी २०२३ सम्म जारी रहने ग्यालरीले जनाएको छ।

बुधबार प्रदर्शनी उद्घाटन गर्दै बेलायतकालागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले कलाकार आजादका कलाकृतिहरुमा रंग, गतिशीलता र सृजनशीलताको बेजोड संगम रहेको बताए।

पूर्वीय दर्शनले मानिसको जीवनलाई द्वैत रुपमा हेर्ने गरेको बताउंदै राजदूत आचार्यले कलाकार आजादले पूर्वीय दर्शनलाई आफ्ना कलाकृति मार्फत अत्यन्त राम्रोसंग अभिव्यक्त गरेको बताए।

उनले नेपाल र बेलायतबीच रहेको ऐतिहासिक सम्बन्धलाई जनस्तरमा पुराउन यस्ता प्रदर्शनीहरुले योगदान गर्ने धारणा पनि व्यक्त गरे।

कार्यक्रममा अक्टोबर ग्यालरीकी निर्देशक चिली हवेसले कलाकार आजादका कलाकृतिहरुको चौथोपटक एकल प्रदर्शन गर्न पाउँदा आफूहरुलाई खुसी लागेको बताइन्। उनले आजादका कलाकृतिहरुमा स्पष्टता, साहस र दूरदृष्टि पाएको पनि बताइन्।

कार्यक्रममा सहभागी बेलायतका लागि नेपाल पर्यटन बोर्डका  दूत महन्त श्रेष्ठले एकजना नेपाली कलाकारले लन्डनको मुटुमा एकल कला प्रदर्शनी आयोजना गर्नु गौरवको कुरा भएको बताए। उनले यसबाट धेरै कला पारखीले नेपाल र नेपालीको बारेमा बुझ्नुका साथै नेपालको पर्यटन प्रवर्धनमा पनि मद्दत पुग्ने विश्वास व्यक्त गरे।

तपाईंलाई कला सिर्जना गर्न के ले प्रेरित गर्छ भन्ने प्रश्नमा कलाकार आजादले भने, ‘मेरो लागि मेरो अन्तर्मनको भावना अभिव्यक्त गर्ने र प्रकृति तथा अस्तित्वसंग साक्षात्कार गर्ने माध्यम नै कला हो ।’ 

उनले पृथ्वी र आकाशबीच सेतुको रुपमा रहेको बादलले आफूलाई बाल्यावस्थादेखि नै आकर्षित गर्ने गरेको बताउंदै बादललाई केन्द्रमा राखेर कलाकृतिहरु कोरिरहेको बताए।

गत महिना कलाकार आजादका कलाकृतिहरु अबुधाबी कला मेलामा पनि प्रदर्शनी गरिएका थिए । तस्बिरहरु- अक्टोबर ग्यालरी

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू