शुक्रबार, वैशाख ७, २०८१
15:03 | १९:४८

भारतीय मूलका ऋषि बेलायतको नयाँ प्रधानमन्त्री, बने पहिलो अश्वेत हिन्दू प्रधानमन्त्री

नेपाली लिङ्क अक्टोबर २४, २०२२

ऋषि सुनाक

लन्डन। भारतीय मूलका ४२ वर्षीय ऋषि सुनाक बेलायतको ५७ औँ प्रधानमन्त्री बन्ने भएका छन्।

सोमबार सत्तारुढ कञ्जरभेटिभ पार्टीको नेता चुनिएसंगै उनी बेलायती इतिहासकै पहिलो अश्वेत तथा हिन्दू प्रधानमन्त्री बन्ने भएका हुन्।

पार्टीको नयाँ नेताका लागि कञ्जरभेटिभ पार्टीका सांसदहरुले पूर्व अर्थमन्त्री सुनाकलाई सर्वसम्मत रुपमा चयन गरेका छन् ।  

यसअघि नयाँ प्रधानमन्त्रीको ‘रेस’ मा चर्चा भएका पूर्व प्रधानमन्त्री बोरिस जोन्सनले आइतबार साँझ आफू प्रतिस्पर्धा नगर्ने घोषणा गरेका थिए भने दाबेदारी घोषणा गरिसकेकी नेतृ पेनी मोर्डन्टले पनि एक सय सांसदको समर्थनको मापदण्ड पूरा गर्न नसकेपछि अन्तिम समयमा दाबेदारी फिर्ता गर्दै सुनाकलाई मार्ग प्रशस्त गरिदिएकी थिइन्।

यसअघि डेढ महिनाअघि मात्रै प्रधानमन्त्रीको रेसमा लिज ट्रससँग पराजित भएका सुनाक अन्तत: पार्टीको सर्वसम्मत नेता बन्दै प्रधानमन्त्री बन्ने भएका छन्।

अन्तिम राउन्डमा सुनाकलाई पछि पार्दै गत सेप्टेम्बर ५ मा प्रधानमन्त्री नियुक्त लिज ट्रसको सरकारले घोषणा गरेको आर्थिक नीतिले यहाँको अर्थतन्त्रमा चरम अस्थिरता सिर्जना गराएपछि चर्को आलोचना र दबाब खेपेकी उनले प्रधानमन्त्री बनेको ४५ दिनमै राजीनामा गरेकी थिइन्।

सन् २०२० फेब्रुअरीमा तत्कालिन प्रधानमन्त्री बोरिस जोन्सन नेतृत्वको सरकारमा अर्थमन्त्री बनेपछि बेलायती राजनीतिमा सुनाकको करियर चम्किएको थियो। कोभिड महामारीका बेला सरकारले ल्याएका विभिन्न राहत कार्यक्रमले उनलाई जनस्तरमा लोकप्रियता दिलाएको थियो।

सन् १९८० मा बेलायतको साउथ ह्याम्प्टनमा जन्मिएका थिए सुनाक। भारतीय मूलका उनका बाबुआमा पूर्वी अफ्रिकाबाट बेलायत आएका आप्रवासी थिए।

भारतीय धनाड्य उद्योगपति नारायण मूर्तिपुत्री अक्षता मूर्तिसँग वैवाहिक सम्बन्ध गांसेका सुनाक दुई छोरीका पिता हुन् ।  

सन् २०१५ देखि सुनाक बेलायतको योर्कशायर क्षेत्रबाट सांसद रहंदै आएका छन्।

हिन्दू पारिवारिक पृष्‍ठभूमिका सुनाकले आफूलाई हिन्दू धर्ममा आस्थावानका रुपमा चिनाउंछन्। यसअघि अर्थमन्त्री हुँदा उनले दिवालीका अवसरमा ११ डाउनिङ स्ट्रिटस्थित आफ्नो सरकारी निवासमा दिपावली गरेका थिए।

संयोगले आज दिवालीकै दिन उनले बेलायतको इतिहासकै पहिलो हिन्दू प्रधानमन्त्री बन्ने सौभाग्य प्राप्त गरेका छन्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू