मंगलबार, वैशाख ४, २०८१
16:56 | २१:४१

लन्डनमा चित्रकलामार्फत नेपाल चिनाउँदै गोविन्द

नेपाली लिङ्क मार्च ३०, २०२२

लन्डन । कक्षा कोठामा लेखपढ भन्दा चित्र कोरेर समय बिताउन रमाउंथे उनी । न प्रशिक्षण, न पढाइ । भित्तामा जे देख्यो त्यही उतार्न तम्सिने उनको जोस थियो । पढाइमा तेज छोरालाई इन्जिनियर बनाउन चाहने बाबुआमाको चाहना उनको चित्रकला लहड अगाडि के लाग्थ्यो र ?

सप्तरी राजवराजका गोविन्दप्रसाद साह साथीकै उक्साहटमा भागेर दिल्ली पुगे साइनबोर्ड लेख्न । उनको साथी साइनबोर्ड लेख्ने काम गर्दथ्यो । गोविन्दले एसएसलसी पास भएको पनि धेरै पछि दिल्लीमै थाहा पाएका थिए ।
सन् १९९१ देखि ०९४ सम्म दिल्लीमा बस्दा उनले शुरुमा केही महिना साइनबोर्ड र भित्तामा लेख्ने काम गरे, पछि मारुती फ्याक्ट्रीमा रंगरोकनकै काम थाले । जीविकोपार्जनका लागि कमाइ राम्रै भएपनि गोविन्दको चाहना व्यवसायिक कलाकार बनेर विश्व जगतमा छाउने थियो । उनी त्यहां धेरै टिकेनन् ।
करिब ५ वर्षपछि सन् १९९५ मा काठमाडौं फिरे । भौंतारिंदै जांदा उनले सामाखुशीमा कलाकार कृष्णगोपाल रन्जितलाई भेटे । गोविन्दले आफ्नो इच्छा कृष्णगोपाललाई बताएपछि उनले आफैं चित्र कोर्न नसिकाउने बरु भोटाहिटी ललितकला क्याम्पस जान सुझाए ।
वि.स. २०५१ तिर उनले कला अध्ययन अगाडि बढाए । अध्ययनका क्रममा उनले विभिन्न सामूहिक प्रदर्शनीमा भाग लिएर सन् १९९९ मा एकल चित्रकला प्रदर्शनी गर्न सफल भए ।
सन् २००३ मा ललितकलाबाट बीएफए उत्तिर्ण गरेपछि गोविन्दले सन् २००६ तिर ढाकाको युनिभर्सिटी अफ डेभलप्मेन्ट अल्टरनेटिभबाट एमए फाइन आर्ट गर्ने अवसर पाए । लगत्तै सन् २००८ मा लन्डनको वीम्बल्डन कलेज अफ आर्टबाट फेरि एमएफए गरे ।
सन् २००७ मा लन्डन टेकेका गोविन्दप्रसाद साह ‘आजाद’ अहिले बिकाउ अन्तर्राष्ट्रिय कलाकारको रुपमा स्थापित छन् । उनी सेन्ट्रल लन्डनस्थित प्रख्यात आर्ट ग्यालरी अक्टोबर ग्यालरीसंग आवद्ध छन् ।
अक्टोबर ग्यालरीमा उनको पहिलो चित्रकला प्रदर्शनी सन् २०११ मा भएको थियो । त्यसको वर्षदिनपछि सन् २०१२ मा रोयल एकेडेमी अफ आर्टस् लन्डनमा समर एक्जिविसनमा उनका चित्र सामेल भए ।
सन् २०१३ मा अक्टोबर ग्यालरीमै गोविन्दको दोश्रो र सन् २०१६ मा तेश्रो एकल चित्रकला प्रदर्शनी भयो ।
गोविन्द अक्टोबर ग्यालरीमा केही साताअघि फेरि उदाए । गत फेब्रुअरी २ देखि मार्च १२ सम्म करिब ५ हप्ता चलेको प्रदर्शनीमा उनका करिब ५० चित्र थिए । एसिया (जापान, चीन, साउथ कोरिया र नेपाल) मुलका अन्तर्राष्ट्रिय कलाकारहरुका चित्र उक्त प्रदर्शनीमा सामेल थिए ।
यतिखेर गोविन्द फाइन आर्ट अध्ययनरत विद्यार्थीसंग अन्तरक्रिया गर्न दुबई पुगेका छन् । २९ मार्चमा टक शो सकेर उनी ३० मा लन्डन फर्कने कार्यक्रम छ ।
चित्रकला संकलनमा सौखिन रमिज मोमिनले आयोजना गरेको ‘भ्वाइस अफ आर्ट’ अन्तरक्रियात्मक सेसनमा पिकासोसंग दाजिने एमएफ हुसेन पनि सहभागी हुंदैछन् ।
यो कार्यक्रम आफ्ना लागि बेग्लै महत्वको भएको साहले बताए । नेपाली राजदूतसमेत सहभागी हुने बताइएको उक्त कार्यक्रममा उनले फाइन आर्ट पढिरहेका किशोरकिशोरीसंग साक्षात्कार गर्नेछन् । दुबई शाही परिवारले सन् २०११ देखि नै आफ्नो चित्र किनेकाले दुबईसंग उनको बेग्लै भावनात्मक सम्बन्ध गांसिएको छ ।
इंग्ल्याण्डमा फुलटाइम यही पेशामा व्यस्त छन् गोविन्द । विश्वका कयौं देशमा आफ्नो चित्र पुगेको बताउने उनले आफ्नो एउटा चित्र ३० लाख रुपैयांसम्म विक्री भएको बताए ।
अमूर्त खालका चित्र हुन्छन् उनका । पहिला हिमाल, ल्याण्डस्केप, मठ मन्दिर, मानिस आदिको चित्र कोर्थे उनी । तर अहिले अमूर्त पेन्टिङमा रमाइरहेका छन् साह ।
‘मेरो अमूर्त पेन्टिङले मनको भाव व्यक्त गर्छ, सबैलाई टच गर्ने भएर मानिसहरु मेरो कला रुचाउंछन्’, उनले भने, ‘संगीत सुनेर मानिस रोए जस्तै मेरो चित्रले पनि मन पगाल्छ । कतिपय मानिसहरु पेन्टिङको अगाडि रुन्छन् ।’
क्यानभासमा तेल र एक्रेलिक कलर (पानी रंग) प्रयोग गर्ने उनी आर्टमा थ्योरी नहुने बताउंछन् । ‘पहिला आर्ट हुन्छ अनि पछि थ्योरी’- उनले प्रष्टयाए-‘आर्ट जति सिक्यो उति व्यापकता हुने रहेछ ।’
पश्चिमी देशहरुले समाज निर्माणमा कला, दर्शन र विज्ञानलाई मेरुदण्ड माने पनि नेपालमा यो अभ्यास नभएको उनले सुनाए ।
‘हामीले अझै यसको महत्व बुझेका छैनौं’, उनले भने, ‘अन्तर्राष्ट्रिय बजारमा नेपाली कलाकार कम भएकाले नेपाली आर्टलाई प्रवर्धन गर्न सकिएको छैन् ।’
प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू