मंगलबार, वैशाख ४, २०८१
10:19 | १५:०४

कोभिड संक्रमण र अनुभव-जीवा लामिछाने (सुन्ने व्यथा)

नेपाली लिङ्क सेप्टेम्बर १५, २०२१

लन्डन । विश्व महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड १९) का कारण हालसम्म संसारभर २२ करोड ७९ लाख मानिस संक्रमित भएका छन् । यिनै संक्रमितमध्ये एक सफल नेपाली व्यवसायी, नियात्राकार अनि एनआरएनएका पूर्व अध्यक्ष जीवा लामिछाने पनि एक हुन् ।

संक्रमण हुनबाट जोगिन कोरोनाविरुद्ध विभिन्न खोपको प्रयोग गरिंदै आएपनि यसलाई निर्मूल गर्ने अहिलेसम्म कुनै औषधि पत्ता लागेको छैन ।

सामान्यतया दुई डोज भ्याक्सिन लगाएपछि शरीरमा एन्टीबडीको विकास हुने र भाइरससंग लड्ने क्षमता वृद्धि हुने भएकोले कोरोना विरुद्धको खोप प्रभावकारी रहेको बताइएको छ । खोपको दुवै डोज लगाएपछि लगभग छ महिनासम्म यसले काम गर्ने बताइएको छ र पुन तेस्रो अर्थात ‘बुस्टर डोज’ लगाउनुपर्ने छ, जुन युरोप लगायत बेलायतमा पनि शुरु भैसकेको छ ।

कोरोना भाइरस उत्पति भएको झन्डै दुई वर्ष पुग्न लाग्दा पनि यसको असर भने अझै कम हुन् सकेको छैन । खोपको प्रभावकारीतासंगै मृतक संख्यामा कमी आएपनि संक्रमित संख्यामा भने खासै कमी आएको छैन । दुवै डोज लगाइसकेपछि पनि ढुक्क हुने अवस्था छैन । दुवै डोज खोप लगाइसकेपछि पनि आफू संक्रमित बनेपछि जीवा लामिछानेले कोभिड अनुभव भन्दै आफ्ना अनुभव र सुझावहरु सामाजिक संजालमार्फत शेयर गरेका छन् । यस अनुभव र सुझावले कोरोना संक्रमणबाट पीडित र त्रशित अन्य थुप्रै मानिसलाई सहयोग मिल्ने र आत्मबल बढ्नेछ ।

दोस्रो डोज खोप लगाएकाहरुलाई पनि कोभिड संक्रमण हुन सक्छ

२० अगस्टमा अन्तरराष्ट्रिय उडान गर्नु पर्ने भएकोले एकदिन अघि पीसीआर टेस्ट गराएँ । दुवै डोज खोप लगाएको र कोरोना सम्बन्धि सावधानी अपनाउने मामिलामा म निक्कै सजग पनि रहेकोले नेगेटिभ नतिजा आउने कुरामा ढुक्क थिएँ । मैले दोश्रो डोज खोप लगाएको पनि पांच महिना पुरा भैसकेको थियो । यस बिचमा पटकपटक एन्टीबडी परिक्षण पनि गराएको थिएँ । शरिरमा प्रसस्त एन्टीबडी बनेर कोभिड विरुद्ध प्रतिरक्षात्मक क्षमता रहेको देखिएको थियो ।

तर सोचे जस्तो संधै कहाँ हुन्छ र ? पीसिआर रिपोर्ट पोजिटिभ देखियो ।

त्यस दिनको पिसीआर रिपोर्टमा सिटि भ्यालु ३५.२६ देखिएको र कहिलेकाहीं गलत नतिजा पनि आउन सक्छ भन्ने सुनेकोले भोलिपल्ट बिहान फेरी स्वाव टेस्ट गराएँ ।

दोश्रो रिपोर्ट पनि पोजिटिभ नै देखियो र भोलिपल्टको सिटि भ्यालु २३ मा झरेकोले कोरोनाको संक्रमण सुरु हुने क्रममा रहेको थाहा भयो । सिटि भ्यालु कम हुनु भनेको कोरोनाको तिब्रता भन्दा पनि त्यसले अरुलाई सार्न सक्ने संक्रामकता बढी हो भनेर बुझ्नु पर्ने रहेछ ।

२० अगस्तको  उडानलाई रद्द गरेर आफूलाई होम आइसोलेशनमा राखें

तेस्रो दिन बिहान उठ्दा जिउ दुख्ने र सुख्खा खोकी लाग्ने क्रम सुरु भयो । खोकी लाग्दा छाती दुखे जस्तो भएकोले छातीरोग विशेषज्ञसंग परामर्श गरें । उहाँले छाती परिक्षण गर्ने सल्लाह दिनु भयो । एक्सरे गर्दा केहि नदेखिए पनि सिटि स्क्यानमा भने देब्रे पट्टिको फोक्सोमा सानो दाग देखिएकोले कोभिडका कारण निमोनिया सुरु हुन लागेको आशंका गरि त्यसै अनुरुप औषधिहरु चलाइयो । मेरो सिटि स्क्यानको रिपोर्टमा बाया फोक्सोमा कोभिड १९ निमोनियाको जस्तो प्याचहरु देखिएको उल्लेख गरिएको थियो । चौथो दिनदेखि जिब्रोले स्वाद थाहा पाउन छाड्यो ।

दशौँ दिनमा पुन: पीसीआर टेस्ट गर्दा नतिजा नेगेटिभ आयो । तर पनि खोकी लाग्ने र जिउ दुख्ने क्रम रोकिएको थिएन । मलाई देखिएका कोभिडका लक्षणहरु माइल्ड प्रकृतिका हुन् । यसो हुनुमा दुवै डोज खोप लगाउनु मुख्य कारण हो भन्ने लागेको छ । म अहिले पूर्णरुपमा स्वस्थ्य भएको छु । यद्यपी रक्त परिक्षणमा केहि सूचकहरु (डी-डाइमर,फेरिटिन र एलडीएच लेभेल) अझै केहि उच्च छन् ।

कोभिड १९ लागेर स्वस्थ्य भएको अनुभवका आधारमा मेरा केहि सुझाव यस प्रकारका छन्-

– सम्भव भएसम्म खोप लगाउनु होला । खोप लगाउनु हुँदैन भन्नेहरुको जमात पनि ठूलो छ ।
– कोभिडमा खोकी लागेर छाती दुख्यो भने तुरुन्तै चिकित्सकसंग परामर्श गर्नु होला । यस्तो अवस्थामा निमोनियाको ठूलो सम्भावना हुँदो रहेछ । निमोनियाको लेभल बमोजिम फोक्सोको क्षति निर्धारण हुने भएकोले सुरु अवस्थामा नै उपचार गरि हाल्नु पर्दछ ।
– बिरामी हुँदा धेरै थरिका सल्लाह/सुझाव आउने रहेछन् । सम्बन्धित विशेषज्ञको सल्लाह मात्रै ग्रहण गर्नु होला ।
– बिरामीको शारीरिक अवस्था, पुराना रोगको हिस्ट्री आदिका आधारमा उपचार पद्धति अपनाउनु पर्ने भएकोले मलाई यसो गर्दा ठिक भएको थियो तपाईंले पनि यहि पद्दति अवलम्बन गर्नुहोस् भनेर सुझाव-सल्लाह नदिनु नै जाति हुन्छ ।
– आत्मबल उच्च राख्नुहोला । सावधानी अपनाउनु होला । कोभिडसंगको लडाई जित्न सकिन्छ ।

कोरोना संक्रमण हुँदा मेरो स्वास्थ्यबारे चासो राखेर मलाई हौसला र उत्प्रेरणा दिनु हुने सम्पूर्ण सहृदयी मित्रहरुलाई हार्दिक आभार व्यक्त गर्दछु ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू