शनिबार, वैशाख ८, २०८१
09:43 | १४:२८

यस वर्षको फूलपाती बढाइँ साङ्केतिक

रासस अक्टोबर १०, २०२०

काठमाडौं ।  यस वर्षको फूलपाती बढाइँ धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिन साङ्केतिकरूपमा मात्र आयोजना गरिने भएको छ  । नेपाली सेनाले सैनिक मञ्च टुंडिखेलामा भव्य समारोहको आयोजना गरी फूलपाती बढाइँ हरेक वर्ष हर्षोल्लासका साथ मनाउँदै आएको छ ।

कोभिड–१९ को संक्रमणबाट सिर्जित परिस्थितिका कारण हर्षोल्लासका साथ नभई धर्म, संस्कृति र परम्परालाई जीवन्तता दिन  प्रतीकात्मकरूपमा मात्र बढाइँ गरिने सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलले जानकारी दिए  । यस वर्ष फूलपाती अगामी कात्तिक ७ गते शुक्रबार परेको छ ।

उनले भने,  ‘स्वास्थ्यसम्बन्धी सम्पूर्ण मापदण्ड पूरा गरी हाम्रा मौलिक चाडबाडलाई निरन्तरता दिने उद्देश्यले पहिलाको तुलनामा साङ्केतिकरूपमा मात्र बढाइँ कार्यक्रम सञ्चालन गरिने योजना गरेका छौँ । अघिल्ला वर्षका बढाइँमा पूर्व,पश्चिम र दक्षिणपाटाबाट ८४-८४ जनाको गुल्मले बढाइँ गर्थ्यो भने यसपटक सामाजिक दूरी कायम गरी २५-२५ जनामा सीमिति गरिएको छ ।’

बढाइँ कार्यक्रममा प्रमुख अतिथिका रुपमा राष्ट्रपति सहभागी हुनेछिन् ।

विगतको जस्तो धेरै कार्यक्रम नगरी छोटो बढाइँ र टुकडीले सैनिक व्याण्ड प्रदर्शनी गर्ने कार्यक्रम रहेको सेनाले जनाएको छ । विगतमा सेनाबाहेक एक हजार २०० को संख्यामा विभिन्न क्षेत्रका महानुभावलाई आमन्त्रण गर्ने गरिएकामा यस पटक सेनासहित पाहुनाको संख्या १०० जनामा सीमित तुल्याइनेछ ।

अघिल्ला वर्षमा सेनानीसम्मलाई सपरिवार बढाइँ कार्यक्रममा सहभागिताका लागि उर्दी हुने गरेकामा स्वास्थ्य मापदण्डका कारण यस वर्ष सहायकरथी दर्जासम्मलाई एक्लै आउने व्यवस्था गर्न लागिएको सैनिक प्रवक्ता पौडेलले बताए  । उपस्थित हुने स्थानमा पञ्जा र स्यानिटाइजरको प्रयोग अनिवार्य गरिएको छ ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू