बुधबार, वैशाख १२, २०८१
16:26 | २१:११

बेलायतका नेपाली जनस्वास्थ्यविदको कोरोनाबाट जोगिने गहन सुझाव

नेपाली लिङ्क अगस्ट ९, २०२०

डा. विभु पौड्याल

लन्डन । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) का कारण विश्वमा ७ लाख २४ हजार भन्दा बढीको ज्यान गइसकेको छ । यसैगरी संक्रमित हुनेको संख्या दुई करोड पुग्न लागिसकेको छ । गत वर्ष डिसेम्बरमा चीनबाट शुरु भएको कोरोना भाइरसका कारण सबैभन्दा बढी प्रभावित मुलुकमा अमेरिका छ ।
चीनपछि युरोपमा फैलिएको कोरोना संक्रमण कम भइसकेपनि अहिले पुनः दोश्रोपटक फैलने खतरा बढ्न थालेको छ । युरोपका जर्मनी, स्पेन, फ्रान्स, बेलायत लगायतका मुलुकहरुमा पछिल्ला दिन नयां संक्रमण थपिन थालेका छन् । बेलायतमा पनि कतिपय शहरमा कोरोना महामारी रोक्न पुनः लकडाउन घोषणा गरिएको छ ।
कोरोनाको दोश्रो लहर आएको खण्डमा बेलायतमा पहिलाको भन्दा बढी झण्डै एकलाख २० हजार मानिसको मृत्यु हुने चेतावनी विज्ञहरुले दिंदै आएका छन् ।
कोरोनाको पछिल्लो अवस्था र यो 
दोहोरिने सम्भावनाबारे बेलायतको बर्मिंगहम विश्वविद्यालयमा औषधि विज्ञानका वरिष्ठ उपप्राध्यापक तथा युरोपियन सोसाइटी फर क्लिनिकल फार्मेसीका अनुसन्धान विभाग प्रमुख डा. विभु पौड्यालसंग गरिएको कुराकानी-
अहिले विश्वमा फैलिरहेको कोरोना 
संक्रमणलाई कसरी नियाल्नुभएको छ ?
यो एउटा महामारीको रुपमा फैलिएको भाइरस हो जसको कुनै पनि औषधि पत्ता लागेको छैन् । यसलाई नियन्त्रण गर्न स्वयं सतर्कता र सचेत रहनुपर्ने हुन्छ । विश्व स्वास्थ्य संगठन र सरकारद्वारा जारी गरिएको नियमको पालना गर्नुपर्दछ । सरसफाई, सामाजिक दुरी, मास्कको प्रयोग, हयाण्ड स्यानिटाइज ईत्यादिको प्रयोग नै यसबाट बच्ने उत्तम उपाय हो ।
अहिले कस्तो छ कोरोनाको अवस्था ?
कतिपय मुलुकमा अहिले कोरोना संक्रमण पिकमा पुगेको छ भने कतिपय मुलुकहरुमा दोश्रो लहर  आउने सम्भावना देखिएको छ । विशेषगरी युरोपतिर दोस्रो लहर शुरु हुन थालेको छ । युरोपका जर्मनी, स्पेन, फ्रान्स, बेलायत लगायत मुलुकहरुमा नयां संक्रमण देखिन थालेको छ । अमेरिका, भारत, ब्राजिल लगायत मुलुकमा अहिले कोरोनाको प्रभाव उच्च विन्दुमा पुगेको छ । पछिल्लो समय संक्रमण कम हुंदै गएका मुलुकमा पनि पुनः संक्रमण देखिनुले अवस्था निकै जटिल छ । तर, अन्य विकल्प नभएकाले सावधानीपूर्वक नै रहनुपर्दछ ।
बेलायतमा कोरोनाको दोश्रो लहरविरुद्ध तयारी पनि शुरु भएको छ । तपाईं के सम्भावना देख्नुहुन्छ ?
बेलायतले कोरोना संक्रमणको पहिलो तरङ्ग पार गरिसकेको छ । तर अहिले नयां संक्रमण बढ्न थालेपछि दोश्रो तरंगको लागि सचेत रहनुपर्ने देखिन्छ । यसअघि पनि समयमा नै सचेत हुन नसकेकाले बढी क्षति व्यहोर्नुपरेको बेलायतले अब भने समयमा नै तयारी हुनुपर्दछ ।
दोस्रो लहरको संक्रमणका लागि बेलायत तयारी अवस्थामा छ । प्रधानमन्त्री बोरिस जोन्सनले केहि समय अगाडि नै कोरोनाको दोस्रो लहर आउने जानकारी गराउंदै सचेत रहन आग्रह गरिसकेका छन् । पहिलोपटक कोरोना संक्रमण फैलिंदा धेरै कुराको जानकारी नभएको तथा पूर्व तयारी नभएकोले समस्या जटिल बन्यो । तर अब हुने संक्रमणका लागि धेरै कुराको अनुभव भइसकेकाले पहिला जस्तो समस्या हुंदैन जस्तो लाग्छ । भौतिक पूर्वाधारदेखि जनचेतनासम्मका विषयमा सबैले अनुभव बटुलिसकेको हुंदा सबै आ-आफ्नो क्षेत्रमा सचेत र तयारी अवस्थामा रहेका छन् ।
बेलायतमा मिश्रित समुदाय रहेको, यहांका मानिसहरु बढी भ्रमण गर्न जाने भएकाले बढी आवतजावतका कारण शुरुमा कोरोना भाइरस संक्रमणले उग्र रुप लिएको हो ।
कोरोनाको दोस्रो लहर (वेभ) आउने सम्भावना कत्तिको देख्नुहुन्छ ?
युरोपियन मुलुकमा बिस्तारै पर्दै गएको प्रभावका कारण बेलायतमा पनि कोरोना संक्रमणको दोस्रो लहर आउने सम्भावना देखिन्छ । पछिल्लो समय बेलायतमा पनि संक्रमण दर बढ्दै गएको छ । विशेषगरि जाडो महिनामा कोरोना संक्रमण बढ्ने सम्भावना देखिन्छ ।
युरोपसंग नजिकको सम्बन्ध रहेका कारण युरोपपछि बेलायतमा प्रभाव पर्नु स्वभाविक देखिन्छ । यसअघि पनि युरोपमा संक्रमण फैलिएको दुई हप्तापछि बेलायतमा संक्रमण फैलिएको थियो । दोस्रो लहरको लागि जाडो महिनामा के कस्तो सतर्कता अपनाउने भन्ने बारेमा बेलायत सरकारले पूर्व तयारी गरिरहेको छ । बिरामीलाई रोगको प्रकृति हेरेर अलग अलग स्थानमा राख्ने, सरसफाई र आवश्यक प्रविधि लगायतका विषयलाई निकै महत्वका साथ हेरिएको छ ।
निश्चित स्थानहरुमा अनिवार्य मास्कको प्रयोग, सामाजिक दुरी, अनावश्यक चहलपहल बन्द तथा स्वास्थ्य सम्बन्धि विशेष सावधान अपनाएर आफैं सुरक्षित रहनुपर्दछ ।
ढुक्क भएर बस्ने अवस्था छ कि छैन् ?
हालसम्म यसको कुनै औषधि पत्ता नलागेको र अनुसन्धानकै क्रममा भएकोले ढुक्क भएर बस्ने अवस्था छैन् । आत्मबल मजबुत बनाएर विश्व स्वास्थ्य संगठनले दिएको निर्देशन तथा सरकारद्वारा जारी नियमको पालना गर्नु नै वेश हुन्छ ।
विश्वमा नेपालीहरुको अवस्था कस्तो छ ?
पछिल्लो समयमा विदेशमा रहेका नेपालीहरुको अवस्था खासै नराम्रो छैन् । हामी नेपालीहरु समूहमा बस्न रुचाउने भएको र एकआपसमा बढी भेटघाट गर्ने बानी भएकाले यसलाई सबैले कम गर्नुपर्दछ ।  नेपालीहरु विशेषगरि सर्भिस सेक्टरहरुमा बढी काम गर्ने भएकाले संक्रमणको सम्भावना धेरै हुने हुंदा कार्यक्षेत्रमा सावधानी अपनाउनुपर्दछ । पहिलाको तुलनामा संक्रमण तथा मृत्युदरमा कमी आएको छ । कतिपय मुलुकमा संक्रमण थपिएको भएपनि आर्थिक क्षेत्र र बेरोजगारीको समस्या नै बढी जटिलता बढ्दै  गएको छ । यद्यपि नेपाल सरकारले समस्यामा परेका नेपालीहरुको उद्धार कार्यलाई प्रथामिकताकासाथ  काम गर्दै आएको छ ।
कोरोना विरुद्ध भ्याक्सिनको विकास कुन अवस्थामा पुगेको छ ?
अहिले कोरोनाको भ्याक्सिन उत्पादनमा विश्वका  विभिन्न मुलुक लागिपरेका छन् । तर यस्ता भ्याक्सिन तुरुन्तै बजारमा आउन सम्भव छैन् । विभिन्न तहका परीक्षण गरेर त्यसको नतिजा हेर्न वर्षौं कुर्नुपर्ने हुन्छ, हतारमा भ्याक्सिन बनाएर भविष्यमा हुने अन्य जोखिमको बारेमा पनि सावधान हुनुपर्दछ । बेलायत लगायतका विभिन्न मुलुकका वैज्ञानिकहरुले केहि चरणको सफलता भएको दावी गर्दै आएका छन् तर यसको दीर्घकालीन असरको बारेमा भने निकै समय लाग्न सक्छ । भ्याक्सिनले रोगको प्रतिरोधात्मक क्षमता बढाउने तर भाइरस संक्रमणलाई घटाउने बारेमा अझै अनुसन्धानकै विषय छ । तसर्थ भ्याक्सिन आउन र यसको सफल र सकारात्मक नतिजा हेर्न अझै वर्षौं लाग्न सक्छ ।
नेपालमा फैलिरहेको कोरोना संक्रमणलाई कसरी बुझ्नु भएको छ ?
नेपालमा कोरोना संक्रमण अन्य देशको तुलनामा अलि ढिला शुरु भयो र समयमै नेपाल सरकारले सतर्कता अपनाएको थियो । समयमै लकडाउन गरि अन्तरराष्ट्रिय उडानमा रोक लगाएर संक्रमण दरलाई नियन्त्रण गर्ने प्रयास गरेपनि भारतबाट नेपाल फर्कनेहरूको व्यवस्थापन गर्न नसक्दा संक्रमणको थप जोखिम बढ्न पुग्यो । लामो समयपछि लकडाउन खुल्ला गरिए लगत्तै संक्रमण दरमा वृद्धि हुंदै गएको छ । लकडाउनका कारण उत्पन्न हुने विभिन्न नकारात्मक पक्षले गर्दा त्यसको अन्य विकल्प पनि थिएन ।
पछिल्लो समयमा संक्रमणदर मृत्युदर दुवै बढ्दै गएको छ । क्वारिन्टाइनको उचित व्यवस्थापन नहुंदा, क्वारेन्टाइन प्रति मानिसहरूको नकारात्मक सोच बढ्न जांदा संक्रमणले झन् विकराल रुप लिंदै गएको छ । संक्रमण दर बढेसंगै सरकारले आवश्यक स्थानहरुमा लकडाउन, आवतजावतमा रोक जस्ता बारेमा सतर्कता अपनाउंदै आएको छ । यसलाई सरकारको मात्र दायित्व नठानी हरेक समाज वर्ग र व्यक्तिले नै आफ्नो दायित्व ठानेर अगाडि बढ्नुपर्दछ ।
सरकारले लकडाउन खोल्न हतार गरेको हो ? 
लकडाउन खोल्न हतार भन्दा पनि बाध्यता भएको हो । लामो समय लकडाउन गर्दा स्वास्थ्यमा पनि असर पर्ने र जनस्तरबाट पनि दवाव आएका कारण लकडाउन खोल्न सरकार बाध्य भएको हो । तर, लकडाउन खोलेपछिको अवस्थामा आवश्यक सावधानी नअपनाएका कारण थप जोखिम बढ्यो ।
अन्तमा, नेपाल सरकारले कोरोना संक्रमण नियन्त्रणका लागि के कस्तो प्रक्रिया अपनाउन जरुरी ठान्नुभएको छ ?
सर्वप्रथम त बोर्डर क्षेत्रमा विशेष सावधान अपनाउनुपर्दछ । क्वारिन्टाइन र आइसोलेसन व्यवस्थापनमा पनि ध्यान दिन जरुरी छ । स्वास्थ्य क्षेत्र र आवश्यक भौतिक पूर्वाधारमा बजेट तथा लगानीमा जोड दिनुपर्दछ । स्वास्थ्य सामग्री र स्वास्थ्यकर्मीहरुको क्षमता विस्तार गर्ने, अन्य क्षेत्रको बजेट कटौती गरि कोरोना संक्रमण क्षेत्रमा लगाउने, सुरक्षाकर्मीलाई बढी सक्रिय गराउने जस्ता कामा विशेष चासोपूर्वक ध्यान दिनुपर्दछ । त्यसैगरी कन्ट्याक्ट ट्रेसिंगलाई पनि थप व्यवस्थापन गरेर समयमा नै थप संक्रमण नियन्त्रण गर्नुपर्दछ ।
अर्को महत्वपूर्ण कुरो सर्फेसबाट कोरोना संक्रमण सर्ने बारेमा कम प्रचार प्रसार भएको देखिन्छ । कुनै पनि वस्तु छोएपछि त्यही हातले नाक, मुख तथा आंखामा छोयो भने कोरोना संक्रमण हुनसक्ने ठूलो सम्भावना रहन्छ ।
सार्वजनिक स्थानहरुमा धेरै व्यक्तिको संसर्ग हुनसक्ने भएकाले त्यस्ता वस्तुको सम्पर्क गर्दा ग्लोब्स, स्यानिटाइजरको प्रयोग गर्ने, हात सफा गरेर मात्र शरीरका अन्य अंगमा छुनुपर्दछ । ढोकाका ह्याण्डिल, एटीएम मेसिन लगायतका बाह्य सर्फेसहरुमा पनि बढी सतर्कता अपनाउनु पर्दछ ।
प्रस्तुति- नरेन्द्र बस्नेत
प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू